वडा कार्यालयमा शिलालेख नराखिएको भन्दै तत्कालिन अध्यक्षले पोखे असन्तुष्टि
धनगढीः १७ माघ २०७८ मा शिलान्यास गरिएको धनगढी उपमहानगरपालिका–४ को वडा भवनको उद्घाटन बुधवार परराष्ट्र मन्त्री आरजु राणा देउवाले गरिन्।
शिलालेख अनावरण र रिबन काटेर मन्त्री देउवाले वडा कार्यालयको उद्घाटन गरेकी हुन्। कार्यक्रममा कैलाली ५ बाट सङ्घीय सांसद, प्रदेशका मन्त्री, पूर्वमन्त्री, प्रदेश सभा सदस्य, नगरप्रमुख, उपप्रमुख सहितको सहभागिता थियो। भवन निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने निवर्तमान वडाध्यक्षलगायत तत्कालीन जनप्रतिनिधिहरूलाई भने खबर नगरिएको आरोप लागेको छ।
उद्घाटनमा नबोलाएपछि निवर्तमान वडाध्यक्ष दीपक थापा क्षेत्रीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी असन्तुष्टि पोखे। वर्तमान वडाध्यक्ष बुद्धि खड्काले भवन शिलान्यासको शिलालेख नराखेको भन्दै उनले आपत्ति जनाएका हुन्। ‘वडा भवन कार्यक्रममा शिलान्यास शिलालेख नराखेरै उद्घाटन गरिनु निकै दुखद् हो।
हामीले २०७८ सालमै २० हजार खर्च गरेर शिलालेख तयार गरेका थियौँ। तर, अहिलेका अध्यक्ष खड्काले त्यो बोर्डको बेवास्ता गर्दै भवन उद्घाटन गरे। इतिहास मेटेर मेटिँदैन, ‘थापाले भने। भवन उद्घाटनमा शिलान्यास बोर्ड नराखिदिएपछि निर्वतमान अध्यक्ष थापाले त्यो बोर्डसमेत पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका छन्।
शिलालेख बोर्ड देखाउँदै थापाले भने, ‘यो बोर्ड हामीले १७ माघ २०७८ मा उद्घाटन गरेका थियौँ। भवन निर्माण हुने क्रममा थियो। त्यहाँ बोर्ड राख्ने ठाउँ थिएन। त्यसैले हामीले राख्न पाएनौँ। पछि हाम्रो कार्यकाल सकियो। वुद्धि खड्का वडाध्यक्षमा निर्वाचित भए। उनले उद्घाटनको बेला हामीलाई खबरसम्म गरेनन्। यदि उनीसँग राजनीतिक संस्कार हुन्थ्यो भने निवर्तमान जनप्रतिनिधि मेयर, उपमेयर र वडाध्यक्षलाई खबर गर्नुपर्थ्यो तर, त्यस्तो भएन।
उद्घाटन कार्यक्रममा कम्तीमा शिलान्यास बोर्ड त राख्नुपर्थ्यो। नगरपालिकाबाट भुक्तानी सम्पन्न भइसकेको बोर्ड वडा कार्यालयमा नराखेपछि मैले यहाँ ल्याएको छु। अब मेरो होटेलमा राख्छु कम्तीमा आउने मान्छेले त हेर्छ,’ थापाले भने। यता वडा नम्बर ४ का वडाध्यक्ष वृद्धि खड्कालाई शिलान्यास बोर्डका विषयमा बुझ्न खोज्दा फोन उठेन।
२०७४ मा भएको स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसले दीपक थापालाई उम्मेदवार बनाएपछि उनीविरुद्ध खड्काले बागी उम्मेदवारी दिएका थिए। निर्वाचनबाट भने थापा नै निर्वाचित भए। त्यो समयमा खड्का शिवपुरी सामुदायिक वनको अध्यक्ष थिए। वडा भवन निर्माण भएको क्षेत्र पनि सामुदायिक वनभित्रै पर्दछ। थापालाई हराउन बागी उम्मेदवारी दिई पराजित भएका खड्काले सामुदायिक वनबाट पनि असहयोग गरे।
वडा कार्यालयको भवन निर्माणका लागि धनगढी उपमहानगरपालिकाले काम थाल्दा नेपाली सेनाले हस्तक्षेप ग¥यो। वन क्षेत्रभित्र रहेकाजग्गा वर्षौंदेखि आफूले उपभोग गरिरहेको भन्दै लामो समय नेपाली सेनाले निर्माण कार्य हुन दिएन। थापाकै नेतृत्वमा सेनाबाट जग्गा प्राप्ति प्रक्रिया सम्पन्न भएर भवन निर्माणको शिलान्यास भएको थियो। ‘त्यो बेला मैले निकै मेहनत गरें। सेनाबाट जग्गा प्राप्ति गर्नु सहज पक्कै थिएन।
सेनासँग दोहोरो संवाद गर्न सक्ने अवस्था थिएन। मैले दर्जन पटक वार्तागरी जग्गा प्राप्ति गरेको थिए। त्योबेला वनका अध्यक्ष रहेका बुद्धि खड्काले पटक–पटक अवरोध सिर्जना गरे,’ थापाले भने। शिवपुरी सामुदायिक वनका अध्यक्ष रहेको समयमा खड्काले वडा कार्यालयलाई भवन निर्माणका लागि जग्गा दिन नसकिने भन्दै माइनट नै गरेका छन्।
६ कार्तिक २०७८ मा सामुदायिक वनले माइनटको प्रस्ताव नम्बर ३ मा वडा कुनै पनि संस्था र सरकारी निकायलाई जग्गा दिन सकिने विधान र कार्य योजना नभएकाले जग्गा उपलब्ध गराउन नसकिने भन्दै निर्णय गरिएको छ। वनको अवरोधबीच पनि थापाको नेतृत्वमा वडा नम्बर ४ को भवन निर्माण भयो। २०७४ को निर्वाचनमा थापा विरुद्ध बागी उम्मेदवार बनेका खड्कालाई नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ५ वर्षका लागि कार्यबाही गरेको थियो।
२०७९ को निर्वाचनमा अन्तिम समयमा उनै खड्कालाई टिकट दिएपछि निवर्तमान वडाध्यक्ष दीपक थापासहित ५७ जनाले पार्टीबाट राजीनामा दिए। तर, उनीहरूको राजीनामा भने हालसम्म स्वीकृत भएको छैन। थापा वडाध्यक्ष रहेको बेला शिवपुरी सामुदायिक वनका अध्यक्ष रहेका खड्का अहिले वडाध्यक्ष छन्। परराष्ट्र मन्त्री आरजु राणा देउवाबाट धूमधामका साथ वडा भवनको उद्घाटन गराएका खड्काले निर्वतमान जनप्रतिनिधीहरूको नाम रहेको शिलान्यास शिलालेख भने राखेका छैनन्। वनको अध्यक्ष हुँदा जग्गा दिन नसकिने भन्दै निर्णय नै गरेका खड्काले वडाध्यक्ष हुँदा सोही क्षेत्रमा निर्माण भएको भवनको उद्घाटन कसरी गरे भन्दै उनीमाथि नैतिक प्रश्न समेत उठेको छ।