सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी आउने यात्रुहरुलाई उपमहानगरले दिन थाल्यो सन्देश

२०८१ भदौ १५, १०:३० खबर संवाददाता

धनगढीः कैलालीको धनगढी आउने प्रत्येक यात्रुलाई उपमहानगरपालिकाले सन्देश दिन थालेको छ।

छोटो तथा लामो दुरीका यात्रुवाहक बसमा सवार यात्रुहरुलाई उपमहानगरपालिकाले दैनिक रुपमा सन्देश दिन थालेको छ। धनगढी प्रवेश गर्ने यात्रुहरुलाई जथाभावी फोहर नफाल्न माइकिङ गर्ने काम भइरहेको छ। उपमहानगरभित्र कार्यरत नगर प्रहरी र कर्मचारीले धनगढीमा फोहर नफाल्न धनगढी प्रवेश गर्ने मार्गमै माइकिङ गर्दै आएका छन्।

विशेष गरी धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत धनगढी उपमहानगरले निर्माण गरेको स्वागत गेटबाटै धनगढी प्रवेश गर्ने छोटो तथा लामो दुरीमा सवार यात्रुहरुलाई जथाभावी फोहर नफाल्न सचेत गराउने काम भइरहेको हो। माइकको माध्यमबाट धनगढीमा फोहर नफाल्न र जथाभावी फोहर फालेको पाइएमा कारबाही हुने भन्दै चेतावनी दिने काम समेत भइरहेको छ।

ट्राफिकको सहयोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ ६ लेन सडकको उत्तरी सिमाना प्रवेशद्वार नजिकै धनगढी प्रवेश गर्ने सार्वजनिक सवारीसाधनहरूलाइ रोकेर उपमहानगरपालिका क्षेत्रभित्र गुट्खा, चकलेटका कभर, पानीका बोतललगायत अन्य फोहर जथाभावी सडकमा नफालिदिन यात्रा गर्ने यात्रुहरुलाई आग्रह गर्ने काम भइरहेको छ।

सफा धनगढी अभियान अन्तर्गत उपमहानगरपालिकाले धनगढी प्रवेश गर्ने हरेक यात्रुवाहक बसमा सवार यात्रुहरुलाई धनगढीमा फोहर नफाल्न सचेत गराउने काम जारी छ। धनगढीमा यसअघि जथाभावी फोहर फाल्ने विभिन्न व्यक्ति एवं संघसंस्थालाई उपमहानगरपालिकाले जरिबाना समेत गराइसकेको छ। धनगढीको कुनै पनि स्थानमा फोहर फाल्न निधेष गरिएको छ।

सार्वजनिक स्थानहरुमा राखिएका डस्टबिनहरुमा मात्र फोहर फाल्न उपमहानगरपालिकाले सबैमा आग्रह गर्दै आएको छ। कुहिने र नकुहिने फोहरका लागि छुट्टाछुट्टै डस्टबिन समेत राखिएको छ। धनगढीलाई सफा सहरको रुपमा विकास गर्न जथाभावी फोहर फाल्ने बानीमा सुधार ल्याउन उपमहानगरले विभिन्न सचेतनामुलक कार्यक्रमको समेत आयोजना गर्दै आएको छ। उपमहानगरपालिकाभित्रका १९ वटै वडाभित्र हरेक टोल तथा गाउँमा फोहरको उचित व्यवस्थापनका लागि महिला समुह नै बनाएर टोल तथा गाउँघर सफा गर्ने काम हुँदै आएको छ। उपमहानगरपालिकाले धनगढीमा प्लाष्टिक विक्री र प्रयोगमा समेत यसअघि नै प्रतिबन्ध लगाइसकेको छ।

कमेन्ट लोड गर्नुस