सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी पुगेर परराष्ट्रमन्त्री राणाले भनिन्, ‘शनिबारदेखि नै गौराको वर्त बसेकी थिए’

२०८१ भदौ १२, ०२:१२ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवाले गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताएकी छन्।

गौरा पर्व मनाउन बुधबार धनगढी पुगेकी मन्त्री राणाले गौराको पूजाअर्चनापछि यस्तो बताएकी हुन्। हरेक वर्ष गौरा पर्व मनाउन धनगढीस्थित घरमा आउने गरेको बताउदै उनले यही अवसरमा यसपटक पनि गौरा पूजनका लागि धनगढी आएको बताइन्। शनिबारदेखि आफूले गौराको ब्रत बसेको बताउदै उनले कार्य व्यस्तताका कारण यसपटक गौरा विसर्जन गर्न धनगढी पुगेको बताए।

मन्त्री राणालाई बुधबार बिहान धनगढी विमानस्थलमा कार्यकर्ता तथा समर्थकले स्वागत गरेका थिए। स्वागतमा सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह लगायत आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा, सामाजिक विकास मन्त्री मेघराज खड्का, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का उपस्थिति भएका थिए।

मन्त्री राणाले घरमा पुग्ने वित्तिकै गौरादेवीको दर्शन गर्नुका साथै पूजाअर्चना समेत गरेकी छन्। उनी निवासमा पुगेपछि कार्यकर्ता तथा समर्थकहरुले डेउडा खेल्नुका साथै अठवाली गाएका थिए। मन्त्री राणा दुई दिन धनगढीमै हुने विभिन्न कार्यक्रममा सहभागी हुने सचिवालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस