सुदूर नेपाललाई विश्वसँग जोड्दै

विपदका ९० घटनाबाट सुदूरपश्चिममा १८ लाख ५६ हजारको क्षति

२०८१ भदौ १०, ०९:५१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा प्राकृतिक विपदबाट एक हजार भन्दा बढी परिवार प्रभावित बन्न पुगेका छन्।

विशेष गरी बाढी, पहिरो र भारी वर्षाका कारण सो संख्यामा स्थानीय प्रभावित बन्न पुगेका हुन्। एक महिनाको अवधिमा यस्ता विपदका ९० घटना घटेका छन्। ती घटनाबाट ठूलो संख्यामा मानवीय एवं भौतिक क्षति समेत निम्तिएको छ। सो अवधिसम्म विपदका घटनाबाट १८ लाख ५६ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको हो।

आगलागी, सर्पदंश, चट्याङ, बाढी, पहिरो, जनावर आंतक, भारी वर्षा, हावाहुरी लगायत विपदका घटनाबाट सो अवधिसम्म ६ महिला र २ पुरुष गरी ८ जनाको मृत्यु भएको छ। ती घटनाबाट १८ महिलासहित २९ जना घाइते भएका छन्। यस्ता विपदका घटनाबाट एक महिनाको अवधिमा एक हजार २५ परिवार प्रभावित बनेका छन्। १७ घर पूर्ण र १४ घरमा आंशिक क्षति पुगेको छ।

७ गोठ नष्ट हुँदा यसबाट २९ पशूचौपायामा क्षति पुगेको छ। सो अवधिमा आगलागीबाट ७ लाख २१ हजार, हावाहुरीबाट ७ लाख, पहिरोबाट एक लाख ३५ हजार र भारी वर्षाबाट तीन लाख गरेर १८ लाख ५६ हजार मूल्यको भौतिक क्षति भएर धनमाल नष्ट भएको सुदूरपश्चिम प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।
एक वर्षमा ४७ जनाको मृत्यु
एक वर्षमा सुदूरपश्चिममा भएका विभिन्न विपद्का घटनामा ४७ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २३ पुरुष र २४ महिला रहेका छन्। सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ मा भएका विपद् सम्वन्धी घटनाको विवरण अनुसार एक वर्षमा आगलागीमा परी चार महिला र ७ पुरुष गरी ११ जनाको गएको छ।

सो अवधीमा भएका २ सय ६७ आगलागीका घटनामा परी २९ जना घाइते भएको छन्। आगलागीबाट १२ करोड १० लाखको अनुमानित क्षति भएको विवरण उल्लेख छ। सो अवधिमा सर्पले डसेर चार पुरुष र चार महिला गरी ८ जनाको ज्यान गएको छ। यस्तै, चट्याङ्ग र हावाहुरीमा परी सात पुरुष र सात महिला गरी १४ जनाको मृत्यु भएको छ। सो अवधिमा भएका चट्याङ्ग र हावाहुरीका ८१ घटनामा परी ६० जना घाइते भएका थिए।

२०८० साउन १ गतेदेखि २०८१ असार ३० गतेसम्मको बिवरण अनुसार बाढी र पहिरोमा परी सात जनाको ज्यान गएको छ। बाढी र पहिरोमा परी १५ जना घाइते भएका छन्। सो अवधीमा जंगली जनावरको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् भने ४७ जना घाइते भएका छन्। यस्तै लेक लागेर एक जना र भूकम्पबाट एक जनाको ज्यान गएको छ।

एक वर्षमा ५४ पटक गएको भूकम्पमा परी २९ जना घाइते भएका सो विवरणमा उल्लेख छ। यस अवधिमा विपद्का विभिन्न घटनाबाट १ सय ४४ घर पूर्ण रुपमा क्षति भएका छन्। यस्तै, ८ सय २१ घर आंशिक क्षति भएका छन् भने ९६ गोठमा क्षति भएको छ। विपद्का कारण ४ सय ५४ पशु चौपाया मरेका छन्। एक वर्षको अवधीमा १२ करोड ७५ लाख ४२ हजार क्षति भएको अनुमान गरेको छ।

कमेन्ट लोड गर्नुस