प्रदेश सरकारको कृषि हाट बजारको लगानी बालुवामा पानी
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा निर्माण भएका अधिकांश कृषि हाटबजार प्रयोगबिहीन अवस्थामा रहेको पाइएको छ।
कैलालीका विभिन्न पाँच स्थानमा आर्थिक वर्ष २०७६/०७७ मा एक करोड भन्दा बढीको लगानीमा कृषि हाटबजार निर्माण भएका थिए। तर, टीकापुर कृषि हाट बजारबाहेक अन्य चार स्थानका हाटबजार अलपत्र अवस्थामा रहेका छन्। शुक्रवार प्रदेश सभा सार्वजनिक लेखा समितिले गरेको अनुगमनमा कृषि हाटबजारहरू प्रयोगबिहीन अवस्थामा रहेको पाइएको हो।
प्रदेश सभा सदस्यहरुसँगको छलफलका क्रममा स्थानीयले किसानको आवश्यकता र सुविधा भन्दा पनि कार्यकर्तामुखी योजनाहरु भएका कारण प्रयोगबिहीन बनेको दाबी गरे। स्थानीयले प्रायः सबै कृषि हाटबजार योजना गलत स्थानमा बनेको, प्रभावकारी अनुगमन नभएका र किसानको सुविधा भन्दा पनि कार्यकर्ताहरुलाई पोस्नको लागि बनेको आरोप समेत लगाए।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी दिनमा यस्ता खालका योजनामा बजेट नराख्न स्थानीयले सुझाव दिएका छन्। सार्वजनिक लेखा समितिका जेष्ठ सदस्य विक्रमसिंह धामीको नेतृत्वमा कृषि हाट बजारको अनुगमन भएको थियो। संसदीय अनुगमनमा प्रदेश सभा सदस्यहरु प्रकाशबहादुर देउवा, सन्तोष शर्मा थापा, अक्कल बहादुर रावल, बेल बहादुर राना, मधु भारती, गीतादेवी माल र गीता चौधरी सहभागी थिए।
सार्वजनिक लेखा समितिको टोलीले गौरिगंगा नगरपालिका–९ स्थित कृषि उपज संकलन, घोडाघोडी नगरपालिका–१, सुखडमा रहेको कृषि बजार ब्यवस्थापन समिति, बर्दगोरिया–५, स्थित प्रगतिशील हाट बजार, लम्कीचुहा नगरपालिका–८, गोप्कास्थित हाटबजार तथा सांस्कृतिक संरक्षण समिति र टीकापुर नगरपालिका–१, स्थित कृषि बजार ब्यवस्थापन समितिको अनुगमन गरेको हो।
आर्थिक वर्ष २०७६/०७७ मा हाटबजार सम्बन्धी सबै योजना उपभोक्ता समितिमार्फत निर्माण भएको बताइएको छ। प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा कृषि ज्ञान केन्द्रले उपाभोक्ता समितिमार्फत कृषि हाटबजारहरु निर्माण गरेको हो।
सार्वजनिक लेखा समितिका अनुसार गौरीगगा नगरपालिकाको कृषि उपज समितिलाई १३ लाख बढी भुक्तानी भएको छ। त्यस्तै, सुखड कृषि बजार ब्यवस्थापन समितिले ४२ लाख ८३ हजार बढी भुक्तानी लिएको छ।
बर्दगोरियाको प्रगतिशील हाट बजारलाई ६ लाख ५९ हजार र लम्कीचुहा नगरपालिका–८ को हाटबजार तथा साँस्कृतिक संरक्षण समितिलाई १३ लाख १८ हजार भुक्तानी भएको छ। टीकापुर नगरपालिका–१ को कृषि बजार व्यवस्थापन समितिलाई १३ लाख १८ हजार रुपैयाँ भुक्तानी भएको छ।
कैलालीका पाँच स्थानमा कृषि हाटबजार निर्माणको लागि प्रदेश सरकारले २०७६/०७७ मा एक करोड ४ लाख ४१ हजार खर्च गरेको थियो। निर्माण भएका हाटबजारहरुमध्ये टीकापुरमा मात्रै साताको दुई दिन हाट बजार सञ्चालन हुने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ। अन्य हाटबजार सञ्चालनमा नरहेको प्रदेश सार्वजनिक लेखा समितिले जनाएको छ।