सुदूर नेपाललाई विश्वसँग जोड्दै

शुक्लाफाँटामा एक हजार चार सय २५ बिघा जग्गा नापजाँच

२०८१ भदौ ६, १२:०८ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अव्यवस्थित बसोवासीलाई जग्गाको स्वामित्व प्रदान गर्न एक हजार नौ सय ३० दशमलव ९८ हेक्टर (एक हजार चार सय २५ बिघा) जग्गा नापजाँच गरिएको छ।

नगरपालिकाको भूमि सेवा केन्द्रका प्रमुख मोहन फुलाराका अनुसार नगरपालिका–१, २, ३, ९ र १२ नम्बर वडामा जग्गा नापजाँच गरिएको हो। वडा नं १ मा दुई हजार आठ सय ५० कित्ता जग्गाको तीन सय ५० दशमलव ५८ हेक्टर (पाँच सय १८ बिघा) नापजाँच गरिएको छ।

वडा नं २ मा एक हजार पाँच सय ५० कित्ता जग्गाको एक सय ९४ दशमलव ८३ हेक्टर (दुई सय ८७ विघा), वडा नं ३ को छ सय ४० कित्ता जग्गाको ९४ दशमलव ३१ हेक्टर (एक सय ३९ विघा), वडा नं ९ को एक हजार एक सय कित्ताको एक सय २६ दशमलव ७७ हेक्टर (एक सय ८७ बिघा) र वडा नं १२ को दुई हजार एक सय ७६ कित्ताको एक सय ९९ हेक्टर (दुई सय ९४ बिघा) जग्गा नापजाँच गरिएको छ।

वडा नं ५ मा अपूरो जग्गा नापजाँच पूरा गरी ८३ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको शाखा प्रमुख फुलाराले बताए। आयोगले नापजाँच स्थगित गर्दा केही महिनादेखि नापजाँच हुन नसकेको उनले जानकारी दिए। “विगतमा भूमि आयोगबाट भएका अधुरा जग्गा सम्बन्धी कामको ‘फिल्ड भेरिफिकेसन’ केही पूरा भएको छ”, उनले भने, “केही अझै हुन बाँकी छ, नयाँ आयोग गठन भई कार्य सञ्चालन भएमा जग्गा नापजाँचसँगै अधुरा काम पनि अगाडि बढाउछौँ।”

नगरपालिकाका १२ वटै वडाका ११ हजार चार सय ८९ अव्यवस्थित बसोबासीले जग्गा नापजाँचका लागि निवेदन दिएका छन्। बसोबासका लागि निवेदन दिनेमा भूमिहीन दलित एक सय ९३ र भूमिहीन सुकुम्वासी एक सय ५४ छन।

कमेन्ट लोड गर्नुस