सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खोजीखोजी अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायता सामग्री वितरण

२०८१ भदौ २, १०:३९ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिकाले खोजीखोजी अपाङ्गता भएका व्यक्तिलाई सहायता सामग्री वितरण गर्न थालेको छ।

उपमहानगरले यो वर्ष २१६ जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरेको छ। यो वर्ष २१ लाख ४० हजार ३ सय रुपैयाँ बराबरको अपाङ्गता सहायक सामग्री वितरण गरिएको उपमहानगरले जनाएको छ। उपमहानगरपालिकाले स्क्रिनिङ गर्न र सामग्री वितरण गर्न सर्वाङ्गिण अपाङ्गता विकास समाज धनगढीसँग प्रविधिक सहकार्य गरेको छ।

गत वर्ष १८९ जनालाई २०५ वटा सहायक सामग्री वितरण गरिएको थियो। १०५ जना पुरुष र ८४ जना महिलालाई गत वर्ष अपाङ्गता सहायक सामग्री वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए। उपमहानगर क्षेत्रलाई पाँच क्लस्टरमा विभाजन गरेर स्क्रिनिङ शिविर चालाए झै पाँचवटै क्लस्टरमा पुगेर सहायक सामग्री वितरण गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन्।

उनले अपाङ्गता भएका व्यक्तिहरूको पहुँच वृद्धि गर्न हरेक वर्ष सहायक सामग्री वितरण गर्दै आएको बताइन्। धनगढी क्लस्टर अन्तर्गत पर्ने वडा नम्बर १, २, ३, ४, ५, ७ र ८ मा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई शुक्रवार नगरपालिका परिसरमा सहायक सामग्री वितरण गरिएको छ।

नगरपालिका परिसरमा ५५ जनालाई सहायक सामग्री वितरण गरिएको थियो। यस्तै, बेला क्लष्टरमा पर्ने वडा नम्बर ६, ११ र १३ मा बसोबास गर्ने लाभग्राहीहरूलाई घोड्सुवा स्वास्थ्य चौकीमा २५ जनालाई सहायक सामग्री वितरण गरिएको जोशीले बताइन्।

यो वर्ष उपमहानगरपालिकाले ह्विल चेयर ७५ थान, ट्राइ साइकल ३२ थान, हेयरिङ एड ३३ थान, एल्बो क्रचेज १२ थान, वाकिङ स्टिक ३४ थान, वाकर ३ थान, कमोड चेयर १ थान, सहायक क्रचेज २४ थान तथा ट्रान्सफोमल प्रोथेसिस २ थान वितरण गरिएको उपमहानगरले जनाएको छ।

उपमहानगरपालिकाले यो वर्ष निःशुल्क सहायक सामग्री वितरण गरेका २१६ जना मध्ये धनगढी क्लस्टरमा ५६ जनालाई सहायक सामग्री वितरण गरेको छ भने फूलबारी क्लस्टरमा ५२, बेला क्लस्टरमा २९, उर्मा क्लस्टरमा ४९ र जुगेडा क्लस्टरमा ३० जना अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस