सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको शिव माविले ताल भाडाको ५२ लाख अझै पाएन

२०८१ साउन ३१, ०६:४० कमल सावद

धनगढीः कैलालीस्थित धनगढीको शिव माध्यमिक विद्यालयको तालको पूर्ण भाडा अझै उठेको छैन। धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित शिव माध्यमिक विद्यालयको ताल ठेक्कामा लिएको ठेकेदारबाट हालसम्म झण्डै ५२ लाख भाडा उठ्न नसकेको हो। विद्यालयले बारम्बार ताकेता गरेपछि पछिल्लो पटक ठेकेदारले ५४ लाख बक्यौतामा केवल २ लाख रुपैयाँ मात्रै विद्यालयमा जम्मा गरेका हुन्।

धनगढी उपमहानगरपालिका–२ का प्रकाश सिंहले माछा पालन गर्ने भन्दै पाँच वर्षका लागि लिजमा लिएको तालको करिब ५४ लाख ४७ हजार पुगेको थियो। ठेकेदार सिंहले रकम तिर्न अटेरी गर्दै आएकोमा हाल २ लाख दिएका हुन्। प्रधानाध्यापक तिलकबहादुर सिंहले ५४ लाख ४७ हजारमा २ लाख रुपैयाँ असुली भएको बताए। २०८१ चैतमा सम्झौताको मिति सकिदैछ। उक्त समयसम्म विद्यालयको बाँकी रकम तिर्ने ताल ठेक्कामा लिएका प्रकाश सिंहले आश्वासन दिएका छन्।

धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित शिव माध्यमिक विद्यालयले २०७७ जेठ ११ मा विद्यालयको स्वामित्वमा रहेको दुइटा ताल ठेक्कामा लगाएको थियो। विद्यालयले १५ बिघाको सहदेव ताल र डेढ बिघाको बिरिया चटिया ताललाई वार्षिक २० लाख ५२ हजार एक सय रुपैयाँ पाउने गरी पाँच वर्षका लागि लिजमा दिएको हो। धनगढी–२ घर भएका प्रकाश सिंहले वर्षमा दुई किस्तामा रकम बुझाउने सर्तसहित ठेक्का हात पारेका हुन्। तर, टिम इन्टरप्रिनर्स प्रालिका सञ्चालक सिंहले सुरु वर्षको पहिलो किस्ता र थप गत माघमा ७ लाख १० हजारबाहेक चार वर्षसम्म हुन आउने बाँकी रकम नतिरेको प्रधानाध्यापक तिलकबहादुर सिंहले बताएका थिए। हाल मात्र २ लाख रकम थप तिरेका विद्यालयले बताएको छ। चैतसम्म करिब ६२ लाख २६ हजार रुपैयाँ सिँहले विद्यालयलाई तिर्नुपर्ने हुन्छ।

माछा पालन गर्ने र वार्षिक दुई किस्तामा सम्झौता बमोजिमको रकम तिर्ने कागज गरेका व्यवसायी सिंहसँग विद्यालयले पाँच वर्षको ठेक्का सम्झौता गरेको छ। सम्झौतामा पहिलो किस्ता हरेक वर्ष घटस्थापना भन्दा ७ दिन अगाडि र दोस्रो किस्ता फागुन मसान्तमा तिर्ने कबुल गरेका छन्।

सम्झौताअनुसार ठेकेदारले किस्ता नबुझाए तालमा प्रवेश रोक लगाइ सय कडा २ प्रतिशतका दरले किस्ता असुल उपर गरिने उल्लेख छ। पाँच वर्षे सम्झौता चैतमा सकिदै छ। ठेकेदार सिंहले विद्यालयको तालमा हरेक वर्ष माछा पालन गरेर बिक्री गर्दै आएका छन। हालसमेत तालमा माछा छन्। प्रधानाध्यापक सिंहले हाल माछाका भुरा हालिएको बताए।

धनगढीमा विद्यालयको ताल ठेक्कामा लिएका सिंहबाट ५४ लाख असुल गर्न सकस

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस