सुदूर नेपाललाई विश्वसँग जोड्दै

डेंगुको संक्रमण बढ्दै

। फोटो स्रोत ।
२०७६ जेठ २९, १२:५६

धरानमा डेंगुको संक्रमण बढ्दै गएको छ। गत वैशाख २९ गते देखिएकोे डेंगु नियन्त्रणमा आउन सकेको छैन। डेंगु नियन्त्रणमा लिने प्रयास पनि जारी रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिए। उनका अनुसार मंगलबार साँझसम्ममा डेंगु संक्रमितको संख्या झण्डै ४ सयको हाराहारीमा पुगेको छ। धरानमा देखिएको डेंगु नियन्त्रणमा लिनको लागि धरानलाई महामारीको रुपमा घोषणा गरेर अघि बढ्न चिकित्सकले सुझाव दिएका छन्। धरानमा मात्र एकै दिनमा ५० जना भन्दा बढीमा डेंगुको संक्रमण देखिएको जनाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयले सुनसरीले ३ जना कर्मचारी २४ सै घण्टा कार्यस्थलमा खटाएको जनाएको छ। त्यस्तै धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाको टोली तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको विज्ञ टोली पनि हरेक दिन प्रभावित स्थलमा नै हुने गरेको छ। श्रोत र साधनको अभावका कारण केही समस्या देखिएपछि प्रदेश सरकारसँग माग गरिएको प्रसाइले जानकारी दिए। अब विद्यार्थी तथा स्वास्थ्य स्वयम सेविकालाई समेत परिरचालन गरेर अभियानलाई थप प्रभावकारी बनाउने बारेमा काम भैरहेको उनले बताए। डेंगुको प्रकोप उच्च बिन्दुमा रहेको भए पनि नियन्त्रण बाहिर भने गई नसकेको विज्ञ टोलीले जनाएको छ। एउटै समयमा एउटै ठाउँमा धेरै मान्छेलाई संक्रमण भएको अवस्थामा त्यो समस्याको रुपमा रहने विज्ञरुले बताएका छन्। 

यस्तै अन्य क्षेत्रहरुमा पनि डेंगु संक्रमितको संख्या बढेको छ। इटहरीमा ४ जनामा डेंगुको संक्रमण भेटिएको छ। विराटनगर महानगरपालिकामा पनि डेंगुको संक्रमण देखिएको छ। विराटनगर महानगरपालिका भित्र २ जनामा डेंगुको संक्रमण देखिएको विराटनगर महानगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख लजिता योञ्जनले जानकारी दिए।  उनका अनुसार विराटनगरको वडा नम्बर १ पुष्पलाल चौक घर भएका र अर्का वडा नम्बर ३ मा घर भएका एक ब्यक्तिमा  डेंगु पुष्टि भएको हो।  

डेंगु संक्रमितको नोबेल र विराट नर्सिङ होममा उपचार भैरहेको छ। यस्तै मोरङको बेलबारी, पथरी, रंगेली र सुन्दरहरैचाहामा पनि डेगुका सक्रमित भेटिएका छन्। योञ्जनले विराटनगर महानगरपालिका भित्र डेगु देखिएपछि सचेतनाका साथ विज्ञ सहितको टोलीले डेंगु नियन्त्रणमा पहिचान गर्ने तयारी भएको जानकारी दिए। डेंगु सक्रमित लामखुट्टेले दिउँसो मात्र टोक्ने भएकाले बाध्य भएर बिहान ७ बजेदेखि ११ बजेसम्म औषधि छर्कने कार्यक्रम राखिएको पनि जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस