सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरमा जताजतै देखिन थाले अजिंगर

२०८१ साउन २७, ०९:५४ खबर संवाददाता

धनगढीः वर्सादको समय सुरु भएसँगै कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा अजिंगर देखिन थालेको छ।

हिजो (शनिबार) मात्र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरमा दुर्लभ प्रजातिको अजिंगर फेला परेको छ। स्थानीय सुनील डगौराको बाख्राको खोरभित्र अजिंगर फेला परेको हो। ८ किलो तौल भएको अजिंगरको लम्बाइ तीन मिटर बढी रहेको वडासदस्य डबलबहादुर ऐरले बताए। निकुन्जका कर्मचारीले उद्धार गरिएको अजिंगरलाई निकुन्जको सुरक्षित क्षेत्रमा लगेर छाडेका छन्।

अजिंगर सनवोरा नदी हुँदै चितौरा नाला भएर डगौराको बाख्राको खोरमा आहाराको खोजीमा आइपुगेको हुनसक्ने स्थानीय हरिदत्त भट्टले बताए। उनका अनुसार गत वर्ष पनि सोही क्षेत्र नजिकबाट अजिङ्गरको उद्धार गरी निकुन्जका कर्मचारीलाई बुझाइएको थियो। गत वर्ष पनि शुक्लाफाँटा नगरपालिका–८ मा लोपोन्मुख प्रजाति अजिंगर फेला परेको थियो।

तीन मिटर लामो उक्त अजिंगरको उद्धार गरिएको थियो। स्थानीय महिलाहरुले अजिंगर देखेपछि बैजनाथ सामुदायिक वन उपभोक्ता समुहको वन्यजन्तु उपचार केन्द्रको टोलीले उद्धार गरेको थियो। उद्धार गरिएको अजिंगरको स्वास्थ्य परीक्षणपछि वनको सुरक्षित क्षेत्रमा छाडिएको थियो।

यता कैलालीमा पनि विभिन्न स्थानमा अजिङ्गर देखिन थालेको छ। जिल्लाको जोशीपुर गाउँपालिका–३ भिटरैयाको हरियाली सामुदायिक वन नजिकै केहीदिन अघि अजिङ्गर फेला परेको थियो। करिब ६ मिटर लामो २५ किलो बराबर तौल भएको वयस्क अजिङ्गर फेला परेको थियो।

स्थानीय यूवा तथा उक्त सामुदायिक वनका अध्यक्ष राहुल बुढाका अनुसार अघिल्लो दिन अजिङ्गरले १०/१२ किलो बराबरको बाख्रा समातेको थियो। वनभित्र अजिंगर भए पनि यति ठुलो अजिङ्गर सामुदायिक वनमा पहिलो पटक देखा परेको उनले बताए। अजिङ्गरको रेस्क्यूका लागि स्थानीयले सव–डिभिजन वन कार्यालय भजनीलाई जानकारी गराएका थिए।

सव–डिभीजन वन कार्यालयबाट महेश चौधरीसहितको टोली, सामुदायिक वनका अध्यक्ष्य लगायतको सहयोगमा अजिङ्गरको उद्धार गरेर सुरक्षित स्थानमा लागिएको थियो। २ वर्षअघि मात्र धनगढी उपमहानरपालिका–४ खानेपानी टोलस्थित खोला किनारमा अजिङ्गर फेला परेको थियो। पाँच फिट ६ इन्च लामो र साढे २ किलो तौलको अजिंगर फेला परेको थियो। त्यतिबेला तटबन्ध निर्माणका लागि जेसिबीले माटो खन्ने क्रममा फेला परेको अजिंगरलाई डिभिजन वन कार्यालय धनगढीको टोलीले उद्दार गरेको थियो।

कमेन्ट लोड गर्नुस