सुदूर नेपाललाई विश्वसँग जोड्दै

बृहत् वामपन्थी एकताका लागि पहल गर्ने प्रचण्डको प्रस्ताव 

२०८१ साउन २६, ०७:५९ खबर संवाददाता

काठमाडौँः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले बृहत् वामपन्थी एकताका लागि पहल गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिवार बसेको पार्टीको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वृहत् वामपन्थी एकताका लागि पहल गर्ने र स्पष्ट कार्यदिशाका साथ जनतामा जाने प्रस्ताव राखेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।

उनका अनुसार देश र जनताको एजेण्डालाई प्रभावकारी रूपमा सदन र सडकमार्फत उठाउने, संघर्षका कार्यक्रमलाई दुवै स्थानबाट प्रभावकारी रूपमा उठाउने र बृहत् वामपन्थी एकताका लागि पहल गर्ने विषयमा बैठकमा छलफल भएको छ।

यस्तै, पार्टीभित्र व्यापक रूपमा शुद्धीकरणको अभियान चलाउने सन्दर्भमा पनि बैठकमा महत्त्वपूर्ण छलफल भएको उनले बताए। अध्यक्ष दाहालले मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीले आगामी दिनमा लिने कार्यदिशा, विचार निर्माणलगायत विषयमा आफ्नो विचार राखेका थिए।

समाजवादी मोर्चामा रहेका शक्तिसँग नियमित संवाद भइरहेको जानकारी दिँदै प्रवक्ता सापकोटाले त्यसैका आधारमा बृहत् वामपन्थी एकताका लागि पहलकदमी लिनुपर्नेमा बैठकमा छलफल भएको बताए।
 

कमेन्ट लोड गर्नुस