सुरो नेपालको बिचौलियासँग कनेक्सन! रकम फिर्ता पाउनै किसानलाई सकस
धनगढीः सुदूरपश्चिमका पूर्व आर्थिक मामिला मन्त्री घनश्याम चौधरीका स्वकीय सचिव शंकर चौधरीले अनुदानमा पावर टिलर दिने भन्दै किसानबाट २६ लाख ४० हजार संकलन गरे पनि अझै फिर्ता गरिसकेका छैनन्।
उनले २२ जना किसानबाट एक लाख २० हजारका दरले रकम सङ्कलन गरेका थिए। सुरो नेपालको समन्वयमा अनुदानमा असारभित्र कृषि उपकरण दिने भन्दै रकम सङ्कलन गरेका चौधरीसँग कैलारी गाउँपालिकाले साउन १५ गते सम्झौता गरेको थियो। नागरिक उन्मुक्ति पार्टीका गाउँपालिका संयोजकसमेत रहेका शंकरबिच एक हप्ताभित्र किसानको रकम फिर्ता गर्ने सम्झौता गरिएको भए पनि सबै किसानको रकम फिर्ता भएको छैन।
शंकर चौधरीले भने, ‘फिर्ता हुँदैछ। सुरो नेपालले प्रत्येक दिन १०÷१० लाख फिर्ता दिदैछ। केही किसानलाई फिर्ता दिन बाँकी छ। सुरो नेपालबाट फिर्ता आयो भने किसानलाई फिर्ता दिने हो। एक/दुई दिनमा सबैको रकम फिर्ता दिन्छौ।’
कैलारी गाउँपलिकाको सामुदायिक विद्यालयमा अध्यापन गराउदै आएका शिक्षक विनोद चौधरीले पनि किसानको रकम फिर्ता गरेका छैनन्।
शिक्षक चौधरीसँग ९५ किसानको ९५ लाख रुपैयाँ एक हप्तामा फिर्ता गर्न साउन १६ गते कागज गरिएको थियो। तर साउन २२ गतेसम्म रकम फिर्ता गरिएको छैन्। शिक्षक चौधरीले बाल सशक्तिकरण नेपालसँगको समन्वयमा अनुदानमा पावर टिलर वितरण गर्ने भन्दै किसानबाट रकम सङ्कलन गरेका थिए। बाल सशक्तकरणका अध्यक्ष योगेश योगी भने सम्पर्कविहिन छन्।
कैलारी गाउँपालिका–६ का रामशरण महतोले सुरो नेपालको समन्वयमा बाल शसक्तिकणसँगको समन्वयमा २५ जना किसानलाई कृषि उपकरण वितरण गर्ने भन्दै किसानबाट रकम सङ्कलन गरेका थिए। महतोले एक लाख २५ हजारका दरले २५ जना किसानबाट ३१ लाख २५ हजार रुपैयाँ सङ्कलन गरेका थिए। महतोले साउन १६ गते एक हप्तामा सबै किसानको रकम फिर्ता गर्न गाउँपालिकासँग कागज बनाएका छन्।
कैलारी गाउँपालिका–८ पृथ्वीपुरको अखुवा कृषि सहकारी संस्थाका अध्यक्ष सीताराम चौधरीले सुरो नेपालको समन्वयमा ५९ जना किसानबाट पावर टिलर र ३८ किसानबाट पानी मोटर वितरण गर्ने भन्दै रकम सङ्कलन गरेका थिए। अखुवा सहकारीले पावर टिलर वितरणका लागि एक लाख १७ हजार पाँच सयका दरले ५९ किसानबाट ६९ लाख ३२ हजार पाँच सय र पानी मोटर वितरणका लागि ३८ किसानबाट १२ हजारका दरले चार लाख ५६ हजार गरेर जम्मा ७३ लाख ८८ हजार पाँच सय रुपैयाँ सङ्कलन गरेको थियो।
सो सहकारीका अध्यक्ष सीताराम चौधरीले ३९ लाख २८ हजार मुल्यका उपकरण किसानलाई दिएको र बाँकी रकम साउन २२ गतेभित्र फिर्ता गर्ने सम्झौता गरिएको भए पनि काम भएको छैन्। अखुवा सहकारीका अध्यक्ष सीताराम चौधरीले भने, ‘सुरो नेपालले १०/१० लाखका दरले फिर्ता पठाउदैछ। भोलि पनि हाल्ने हो। १० लाख आज र १० लाख हिजो हालेको थियो। हामी हिजोबाट दैनिक किसानलाई रकम फिर्ता गर्दैछौ।’ कैलाली गाउँपालिकाबाट असार महिनाभित्र कृषि उपकरण अनुदानमा वितरण गर्ने भन्दै सुरो नेपालले बिचौलिया मार्फत रकम सङ्कलन गरेको थियो।