सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नेपाली काँग्रेसबाट आज २ जना मन्त्री बन्दै

२०८१ साउन २१, ११:१४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज शपथ ग्रहण गर्दैछन्।

दोस्रोपटक आइतबार मुख्यमन्त्रीमा नियुक्त भएका शाहले आज दिउँसो साढे ३ बजे सपथ ग्रहण गर्ने भएका हुन्। प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रमका लागि आवश्यक तयारी अघि बढाएको छ। मुख्यमन्त्री शाहले शपथ ग्रहण गरे लगत्तै मन्त्रिपरिषद् विस्तारको तयारी समेत गरेका छन्।

त्यसका लागि शाहले सत्तारूढ नेकपा एमालेसँग छलफल गरिरहेका छन् भने काँग्रेसबाट २ जना मन्त्रीको नाम टुंगो लागिसकेको नेपाली काँग्रेसबाट प्रदेश सभा सदस्य विक्रमसिंह धामीले बताए। तर कुन मन्त्रालयको मन्त्री बन्ने भन्ने विषयमा भने यकिन भइनसकेको उनले बताए। नेपाली काँग्रेसबाट बहादुरसिंह थापा र मेघराज खड्का मन्त्री बन्ने गरी नाम टुंग्याइएको छ।

नेपाली काँग्रेस र नेकपा एमालेबीच तीन/तीन मन्त्रालय लिने समझदारी भए पनि कुन मन्त्रालय लिने भन्ने विषयमा टुंगो लाग्न बाँकी छ। नागरिक उन्मुक्ति पार्टीलाई समेत एउटा मन्त्रालय दिएर सरकारमा सहभागी गराउने मुख्यमन्त्री शाहको तयारी छ। असार १७ गते काँग्रेस र एमालेको गठबन्धन बनेपछि अल्पमतमा परेका एकीकृत समाजवादीका दीर्घबहादुर सोडारीले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए।

कमेन्ट लोड गर्नुस