सुदूर नेपाललाई विश्वसँग जोड्दै

दोधारा–चाँदनीमा बाघ! तीन बाख्रा मार्‍योे

२०८१ साउन १९, ०२:१३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको दोधारा–चाँदनीमा पुनः बाघ देखिएपछि स्थानीयमा त्रास बढेको छ।

शुक्रवार साँझ पुनः बाघ देखिएको स्थानीयले बताएका छन्। बाघ भएको पुष्टि भने भएको छैन। यसअघि बुधवार बिहान दोधारा–चाँदनी–२ मा देखिएको बाघ शुक्रवार बिहान शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्ज संयुक्त प्राविधिक टोलीले डार्ट गरी नियन्त्रण लिइसकेको छ। सो बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको छ।

बुधवार देखिएको बाघले बिहीबार बिहान सोही स्थानकी २६ वर्षीय हिरा शाहलाई आक्रमण गरेपछि उनको मृत्यु भएको थियो। हिराको शव फेला परेकै क्षेत्रमा पुनः अर्को बाघ देखिएको खबर आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। दोधारा–चाँदनी नगरपालिका–३ मा तीन बाख्रा मारेको खबर आएको प्रहरीले बताएको छ।

पुनः बाघ देखिएको स्थानीयको दाबीपछि शक्रबारराति सो क्षेत्रमा निकुञ्ज, आर्मी, प्रहरी र स्थानीयले पहरा दिएका थिए। बाघ देखिएको स्थान वरपर लाइटिङ गरेर हेर्दा त्यस्तो कुनै संकेत नदेखिएको दोधारा–चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताएका छन्।

कमेन्ट लोड गर्नुस