अपाङ्गता भएका व्यक्तिले राजनीतिक अवसर नपाएको गुनासो
धनगढीः नेत्रहीन नागरिकहरूलाई राजनीतिक अवसर नमिलेको गुनासो गरिएको छ।
नेत्रहीन युवासंघद्वारा सञ्चालित अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक सहभागिता र नागरिक संलग्नता कार्यक्रम समापन गर्दै यस्तो गुनासो गरिएको हो। नेत्रहीन तथा अपांगता भएका व्यक्तिहरुको राजनीतिक पहुँच बृद्धि, र अपाङ्गता भएका व्यक्तिको सवालमा संघ र प्रदेश सरकारलाई नीति निर्माण गर्न दबाब दिने उद्देश्यका साथ एक वर्ष अघिदेखि परियोजना सञ्चालन रहेको थियो।
बुधवार धनगढीमा कार्यक्रमको समापन गर्दै वक्ताहरूले अपाङ्गता भएका व्यक्तिले राजनीति अवसर नपाउने समस्या समाधान गर्न राज्य अग्रसर हुनुपर्ने माग गरेका हुन्। नेत्रहिन युवासंघ नेपालका केन्द्रीय महासचिव अर्जुन रावलले परियोजनाले अपांगता भएका व्यक्तिको राजनीतिक पहुँच बृद्धिमा सहयोग पुगेको बताए।
उनले राज्य र राजनीतिक दलहरूले समावेशी सिद्धान्त र अवधारणालाई पूर्ण कार्यान्वयन गरेर अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक निर्वाचित निकाय र पार्टी संयन्त्रमा पुगाउनुपर्ने बताए महासचिव रावलले आगामी दिनमा नेत्रहीनसहित अपांगता भएका व्यक्तिका पक्षमा संघ र प्रदेश सरकारबाट उचित नीति निर्माण हुने अपेक्षा व्यक्त गरेका छन्।
पत्रकार भवानी ऐरले अपाङ्गता भएका नागरिकका लागि बनाइएका कानून र नियमको पूर्ण पालना नभएको बताए। उनले राज्य र सम्बद्ध पक्षले अपाङ्गता भएका व्यक्तिका अधिकार संरक्षण गर्न प्रतिबद्ध हुनुपर्ने बताए।