सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्लभ घडियालले कोरले बच्चा

तस्बिरः गोरखापत्र
तस्बिरः गोरखापत्र
२०८१ साउन १७, ०१:२० खबर संवाददाता

धनगढीः कैलालीमा दुर्लभ घडियाल गोहीले बच्चा कोरलेका छन। घडियालले कर्णाली र पथरैया नदीमा बच्चा कोरलेका हुन्।

 गत वर्ष एउटा घडियाल गोहीले पथरैया र काँढा नदीको दोभानमा बच्चा कोरलेको थियो। स्थानीय संरक्षणकर्मीका अनुसार यस वर्ष पथरैयामा दुई र कर्णाली नदीमा तीन स्थानमा गरी घडियालले १२४ वटा बच्चा निकालेका छन्। गत वर्ष घडियालले एक गुँडबाट ३५ वटा बच्चा निकालेको थियो।

कर्णाली नदीमा चार वटा गुँड फेला परेकामा तीन वटा गुँडबाट मात्रै बच्चा निस्केको संरक्षणकर्मी भोजराज ढुङ्गानाले जानकारी दिए। उनका अनुसार तीन गुँडबाट ८४ जीवित बच्चा निस्केका छन्।्। तीन अन्डा बिग्रेका र १४ बच्चा मरेको अवस्थामा फेला परेको जनाइएको छ । पथरैया नदीमा तीन वटा गुँड फेला परेका थिए। तीमध्ये दुई वटा गुँडबाट मात्रै २८ वटा बच्चा निस्केका छन्।

घडियालले बच्चा निकाल्नका लागि गुँड भिरालो स्थानमा हुनु पर्छ, उनले भने, दुई गुँड अलि होचो स्थानमा भएकाले बाढीका कारण बच्चा निकाल्न सफल भएन। वयस्क पोथी घडियालको लम्बाइ ३.५ देखि ४.५ मिटरसम्म हुने गर्छ । ९÷१० वर्षको भएपछि पोथी घडियाल प्रजननका लागि परिपक्व हुने जनाइएको छ । पुस र माघमा ‘मिटिङ’ पछि पोथीले चैत वैशाखतिर अन्डा दिने गर्छ।

घडियालले नदीकिनारको बालुवामा गुँड खाल्डो बनाएर त्यसमा एकै पटक करिब ४० वटासम्म अन्डा पार्ने गर्छन्।, खाल्डोमा अन्डा पुरेर गोही फेरि जलाशयमा फर्कने गर्छन्।। बालुवामा तलमाथिबाट तापक्रम मिल्ने गरेर गोहीले गुँड बनाएका हुन्छन्,” संरक्षणकर्मी ढुङ्गानाले भने, गुँडमा रहेको अन्डा आफैँ फुटेर ६० देखि ९० दिनको बिचमा बच्चा निस्कन्छन्।

अन्डा आफैँ फुटेर निस्केका बच्चालाई माउले शरीरमा चढाएर पानीमा आहारविहार गराउँछ। वयस्क घडियालले ठुलो माछा र सानो बच्चाले सानो माछा खाने गर्छन्। लोप हुने अवस्थामा पुगेको घडियाल गोही नेपालमा थोरै सङ्ख्यामा रहेको बताइन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले घडियाललाई संरक्षित सरीसृप वन्यजन्तुको सूचीमा राखेको छ।

यस वर्ष डल्फिन संरक्षित क्षेत्रको मोहना, पथरैया, कान्द्रा नदीमा १२ वटासम्म घडियाल देखा परिरहेको जनाइएको छ। डल्फिन पाइने यहाँका नदीमा घडियाल र मगर गोहीको बसोवास वर्षभरि नै हुने गरेको छ।
 

कमेन्ट लोड गर्नुस