सुदूर नेपाललाई विश्वसँग जोड्दै

घरभित्र पसेको पानी निकाल्न धनगढीले ल्यायो ‘वाटर पम्प’

२०८१ साउन १५, ०९:४५ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले विपद् व्यवस्थापन गर्न नगर प्रहरीलाई तालिम र स्रोतसाधन उपलब्ध गराएको छ।

विपद व्यवस्थापनमा नगर प्रहरीको क्षमता बढाउन उपमहानगरले तालिमसँगै उपकरणसमेत व्यवस्थापन गरेको छ। ‘हर घडी नगर प्रहरी’ भन्ने नाराका साथ नगर प्रहरी बलको क्षमता विकास गरिएको छ। सबै खाले विपदमा नगर प्रहरी खटिएर खोज तथा उद्धार अनि विपद प्रतिकार्यका योजना बनाउन सक्षम हुँदै गएको छ। धनगढीमा आगलागी, बाढी र डुबान जस्ता विपदको समयमा उद्धार गर्न नगर प्रहरी खटिन थालेको छ।

आगलागी, बाढी र डुबान जस्ता समस्या भएको खबर आउनासाथ नगर प्रहरी उद्धारमा खटिँदै आएको छ। साउन दोस्रो हप्ता परेको पानीले खुटिया नदिमा आएको बाढीका कारण मोहना पारि थुनिएका व्यक्तिहरूलाई नगर प्रहरीले उद्धार गरेको थियो। साउनमा मात्रै नदी पारि थुनिएका ४७ जनाको नगर प्रहरीले उद्धार गरेको हो।

धनगढीमा नगर प्रहरीलाई आगलागी नियन्त्रणदेखि सर्प उद्धार, डुबान र बाढीको समयमा विपद प्रतिकार्यको योजना बनाउन र सो योजना अनुसार काम गर्न सक्षम बनाइएको छ। नगर प्रहरीलाई विभिन्न विपद व्यवस्थापन सम्बन्धी तालिम दिने काम भएको छ।

नगर प्रहरीलाई नगरवासीको भरपर्दो साथी बनाउन खोज तथा उद्धार सम्बन्धी तालिम, जल उद्धार तालिम र समुदायमा आधारित विपद प्रतिकार्य सम्बन्धीको तालिम दिइएको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख दिपक भण्डारीले बताए। ‘विपद् व्यवस्थापन गर्न सहज होस् भनेर नगर प्रहरीलाई विभिन्न तालिम दिइएको छ’, उनले भने, ‘आगलागी, बाढी, डुबान र अन्य विपद्को समयमा काम गर्न सहज होस् भनेर स्रोतसाधन पनि जोड्ने काम भएको छ।’

पानी पर्दा डुबानको समस्या भए नगरवासीलाई तत्काल सेवा पुगाउन पानी तान्ने पम्प व्यवस्थापन गरिएको छ। नगरवासीको घरभित्र पानी पसेर जलमग्न भएको अवस्थामा तत्काल पानी तान्न दुईवटा वाटर पम्पको व्यवस्थापन गरिएको छ। डुबान भएर कुनै पनि ब्यक्तिको घरभित्र पानी पसेर जलमग्न भएको अवस्थामा तत्काल पानी बाहिर निकाल्न पम्पको प्रयोग गरिनेछ। यो सेवा पाउन नगर प्रहरीको टोल फ्री नम्बर १८१०५००००९०/०९१५९०६९० मा सम्पर्क गर्न उपमहानगरले आग्रह गरेको छ। विपद् व्यवस्थापन गर्न साधनस्रोत जोड्ने र  नगर प्रहरीको क्षमता बढाउने काम भएको छ।

यस्तै आगलागी भएको अवस्थामा दमकल जान नसक्ने बाटोमा पोर्टेबल फायर पम्पको माध्यमले आगलागी नियन्त्रण गर्ने व्यवस्था मिलाइएको वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख भण्डारीले बताए। नगर प्रहरीको क्षमता विकास गरेर नागरिकलाई सेवा दिने लक्ष्य उपमहानगरले राखेको छ। एम्बुलेन्स सेवा, अलपत्र परेका व्यक्तिको उद्धार, शव चिस्यान सेवा, सर्प उद्धार सेवा र ढलेको रुख हटाउनेदेखि सडक अबरोध हटाउने कार्यमा नगर प्रहरी खटिने गरेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस