कैलालीको गौरीगंगामा नेताका श्रीमतीलाई कार्यालय सहयोगीमा भर्ना
धनगढीः कैलालीको गौरीगंगा नगरपालिकाले सेवा करार पदपूर्तिका लागि २०८० चैत ७ गते सूचना जारी ग¥यो। कार्यालय सहयोगीका लागि जारी गरिएको सूचनामा ९७ जनाले उम्मेदवारी दिए।
उनीहरूमध्ये ७२ जनाको नाम सङ्क्षिप्त सूचिमा समावेश गरियो। लिखित परीक्षा भएको चार महिनापछि २०८१ साउन ९ र १० गते अन्तर्वार्ता भयो। नगरपालिकाले कार्यालय सहयोगीका लागि लिएको अन्तर्वार्तामा चार जना सिफारिस भएका छन्। सिफारिस भएका कार्यालय सहयोगीहरू माओवादी र काँग्रेसले भागबन्डा गरेर मिलाएको छ। माओवादी र काँग्रेसले २/२ वटा कार्यालय सहयोगीको पद भागबण्डा गरेपछि एमालले विरोध गरेको थियो।
विरोधका बिच एमालेले आइतवार बिहान नगर प्रमुख देवीदत्त कँडेलसँग छलफल गरेको थियो। छलफलपछि विरोधका कार्यक्रम स्थगित गरिएका छन्। एमालेबाट वार्ता टोलीका संयोजक सागर थापाले माओवादी र काँग्रेसले २/२ वटा कार्यालय सहयोगीका पद भागबन्डा गरिएको बताए। उनले भने, ‘कर्मचारी भर्नामा हामीले असहमति गरेका हौ। उनीहरूले भान्सेपनि राख्न सक्छौ भने।’
गौरीगंगामा कार्यालय सहयोगी भर्नामा माओवादी र काँग्रेसका बिचमा भागबन्डा गरिएको छ। नगर प्रमुखमा माओवादीका देवीदत्त कँडेल र उपप्रमुखमा काँग्रेसका भोजबहादुर बम छन्। माओवादी केन्द्रका गौरीगंगा नगर अध्यक्ष नविन धामीकी श्रीमती शान्ती धामी, नेपाली काँग्रेस गौरीगंगा नगर उप–सभापति हृदय थापाकी श्रीमती विमला जोशी, नेपाली काँग्रेसबाट विजयी जिल्ला समन्वय समिति, कैलालीका सभापति हाल निधन भइसकेका पदबहादुर कलेलकी श्रीमती भावनादेवी कलेल र माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्य करन साउँदकी बहिनी रितु साउँदलाई कार्यालय सहयोगीमा सिफारिस गरिएको छ।
कार्यालय सहयोगीको पदमा नेताका श्रीमती र आफन्तहरु सिफारिस भएका हुन्। तर, कार्यालय सहयोगीको पदमा समेत भागबण्डा गरिएको विषयमा नगर प्रमुख कँडेलले भने प्रतिक्रिया दिन मानेका छैनन्। एमालेलेले भर्ना गरेका कार्यालय सहयोगीहरू हटाएर माओवादी र काँग्रेसले आफ्ना पार्टीका नेताका श्रीमती र आफन्त भर्ना गरेको छ। एमालेबाट विजयी पूर्व नगर प्रमुख भीमबहादुर देउवाले भर्ना गरेका कार्यालय सहयोगीहरू हटाइएको छ।
देउवाले भर्ना गरेका कार्यालय सहयोगीहरू हटाइएपछि एमालेले विरोध गरेको थियो। आइतवार नगर प्रमुख कँडेलसहित एमालेबाट वार्ता टोलीका संयोजक सागर थापाको समूहसँग पाँच घण्टा बैठक भएको थियो। तर, एमालेले माओवादी र काँग्रेससँग भाग खोजेको आरोप छ।
एमालेबाट वार्ता टोलीका संयोजक सागर थापाले पार्टीका नेता/कार्यकर्ताहरूको सहयोग नभएकाले विरोधका कार्यक्रमहरू फिर्ता गरिएको बताए। उनले भने, ‘नेता कार्यकर्ताका श्रीमती राखेका हुन। भाग हालेर कर्मचारी राखेको हो। एमालेले राखेका हटाएको हो।’ नगरपालिकाको कार्यालयदेखि वडा कार्यालय, स्वास्थ्य संस्था लगायतका कार्यालयमा करार सेवामा कर्मचारी भर्नामा भागबन्डा हुने गरेको छ।