धनगढीमा हैजाका संक्रमित बढ्दै, आइतवार थप २ जनामा हैजा पुष्टि
धनगढीः कैलालीमा आज (आइतवार) थप २ जनामा हैजा पुष्टि भएको छ।
जिल्लाको धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका ६ र ८ वर्षीय दुई बालकमा हैजा पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।
यो सँगै धनगढीमा हैजाका बिरामीको सङ्ख्या चार पुगेको छ। स्वास्थ्य कार्यालय कैलालीका अनुसार यसअघि पनि पशुपति टोलका २३ र २६ वर्षीय २ युवकमा हैजा पुष्टि भएको थियो।
आज हैजा पुष्टि भएका दुबै जनाको घरमै उपचार भइरहेको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले बिरामीहरुको घरमा भण्डार गरेको पानीमा कैफियत देखिएपछि क्लोरिङ ट्याब्लेट वितरण गरिएको बताए।
हैजाबाट बच्न उमालेको पानी पिउन, दिशा–पिसाब गरिसकेपछि साबुन पानीले हात धुन, खुला रुपमा शौच नर्गन, खाना पकाउँदा तथा खानुअघि साबुन पानीले हात धुन, फोहरमैलाको व्यवस्थापन गर्न तथा झाडापखाला लागेमा पुनरजलिय झोल खान र चाँडो स्वास्थ्यकर्मीकहाँ जान कार्यालय प्रमुख श्रेष्ठले आग्रह गरेका छन्।