सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा अबको मुख्यमन्त्री बन्न कांग्रेसभित्रै दौडधुप

२०८१ साउन ११, ०२:११ खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा अबको मुख्यमन्त्री बन्न कांग्रेसभित्र दौडधुप बढेको छ।

केन्द्रीय सत्ता समिकरणको सहमती अनुरुप सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसले पाउने भएपछि कांग्रेसभित्रै दौडधुप बढेको हो। एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले मुख्यमन्त्री सोडारीले राजीनामा दिनुपर्ने माग गर्दै आएका छन्। सोडारीलाई विश्वासको मतका लागि अझै केही दिनको समयसीमा बाँकी छ।

सुदूरपश्चिम प्रदेश सरकार साउन १ गतेदेखि बजेट शून्यताको अवस्थामा छ। बजेटसम्बन्धी कानुनहरू आर्थिक ऐन र विनियोजन ऐनको अभावमा सरकारको आम्दानी र खर्च ठप्प छ। विनियोजन ऐन नभएका कारण प्रदेश सरकार पूर्णरूपमा बेखर्ची बनेको छ। असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आफ्नै दलका आर्थिक मामिला मन्त्री रहेका सुरेन्द्रबहादुर पालले पेस गरेको बजेटको स्वामित्व नलिने निर्णय एमालेले गरेको हो।

यसबिचमा कांग्रेसभित्र भने अबको मुख्यमन्त्रीका लागि लविङ सुरु भएको छ। प्रदेशको ठूलो दल कांग्रेसमा अबको मुख्यमन्त्रीका लागि निर्वतमान मुख्यमन्त्री कमलबहादुर शाह, पुराना नेता बहादुरसिंह थापा र दिवानसिंह बिष्ट केन्द्रमा लबिङ गरिरहेका छन्।

कांग्रेसभित्र प्रकाशमान सिंह समूहसँग नजिक रहेका शाहको निर्वाचन जिल्ला कैलाली रहेको र सभापति देउवा पत्नी आरजु राणाले विगतमा पनि कैलालीबाट प्रतिनिधि सभाको निर्वाचनमा पराजित ब्यहोरेको हुँदा आगामी निर्वाचनमा उनको सहजतालाई ध्यान दिँदै उनी मुख्यमन्त्रीमा दोहरिने संभावना रहेको कांग्रेस निकट नेताहरूको तर्क छ।

यस्तै, कांग्रेसका पुराना नेता बहादुरसिंह थापाको निर्वाचन क्षेत्र कञ्चनपुर हो। यसअघि थापा प्रदेश संसदीय दलको नेता बन्न लबिङ्गमा थिए। केन्द्रीय निर्देशनपछि संसदीय दलको नेता बन्न नपाएका थापाले तत्कालिन मुख्यमन्त्री शाह नेतृत्वको सरकारमा मन्त्री हुन मानेका थिएनन्। देउवा गुटकै नेता एनपी साउद समूह मानिने थापाको यसपटक मुख्यमन्त्रीको संभावना रहेको तर्क समेत गरिएको छ।

देउवा गुटकै अर्का नेता रमेश लेखक यतिबेला गृहमन्त्री छन्। साउद समूहले सुदूरपश्चिमको मुख्यमन्त्री पाउने चर्चा पनि नेताहरूबिच चलेको छ। त्यस्तै, कञ्चनपुरबाट प्रदेश सभामा निर्वाचित दिवानसिंह बिष्ट पनि मुख्यमन्त्रीका लागि केन्द्रमा लबिङ गरिरहेका छन्। शेखर कोइराला समूहका बिष्ट मुख्यमन्त्रीका लागि लबिङमा छन्। यसका साथै पार्टी सभापति शेरबहादुर देउवाका भतिजा तथा प्रदेशका पूर्वमन्त्री प्रकाश देउवा, अछामका मेघराज खड्का, बैतडीका पूर्वमन्त्री शिवराज भट्ट र प्रमुख सचेक बिक्रम धामी लगायत पनि मुख्यमन्त्रीको आंकाक्षी रहेको पाइएको छ।

कमेन्ट लोड गर्नुस