सुदूर नेपाललाई विश्वसँग जोड्दै

अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत!

२०८१ साउन ११, १०:४८ रासस

कञ्चनपुरः १८ वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको प्रगति २२ प्रतिशत मात्र देखिएको छ।

राष्ट्रिय गौरवको आयोजना निर्माणको काम सुस्त गतिमा भइरहेको हो। २०६३ सालदेखि महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि अहिलेसम्म २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ। ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म सात अर्ब ६८ करोड खर्च भएको छ।

कैलाली र कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगाउने आयोजनाको लक्ष्य भए पनि बजेट अभावलगायत कारण आयोजनाको काम सुस्त छ। हाल मूल नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन्। २८ किलोमिटर मूल नहरमा पानी प्रवाह हुन सकेको छैन।

महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले भारतीय पक्षले उद्धघाटन नभई पानी दिन नसकिने अडान राखेपछि निर्माण सम्पन्न भएको नहरमा समेत पानी नछाडिएको बताएका हुन्। २०७७ माघ २९ को निर्णयानुसार २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ।

आयोजनाको २८ दशमलव ८ किलोमिटरदेखि ४८ दशमलव तीन किलोमिटरसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँचवटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो। तीन वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, वन क्षेत्र र मुआब्जाका कारण निमार्णले गति लिन नसकेको हो। आर्थिक वर्ष २०६२/६३ मा काम सुरु भएको आयोजनाको हालसम्म २८ दशमलव ९ किलोमिटर मूल नहर निर्माण भएको छ ।

मूल नहर बनेका क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन्। शाखा नहर निर्माण भएमा आगामी वर्षभित्र पाँच हजार दुई सय हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ। एक सय ५१ किलोमिटर लामो मूल नहर सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार पाँच सय २० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ।

कमेन्ट लोड गर्नुस