सुदूर नेपाललाई विश्वसँग जोड्दै

जातीय छवाछुत अझै हट्न सकेनः मन्त्री बिक

२०८१ साउन १०, ०९:५० खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लक्ष्मी विकले सुदूरपश्चिममा अझै पनि जातिय छुवाछूत अन्त्य हुन नसकेको बताएकी छन्।

अन्तरधार्मिक शान्ति महासंघ नेपालले धनगढीमा बिहीबार आयोजना गरेको धार्मिक सवालहरुको बारेमा विश्वव्यापी आवधिक समीक्षा तथा अन्तरधार्मिक शान्ति अभियान सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर क्रियात्मक कार्यक्रममा मन्त्री विकले यस्तो बताएकी हुन्।

‘म मन्त्री रहँदा खेरी पनि त्यो महसुस भयो। त्यो भित्र यो त्यो कमिटीको त होला भने कतिपय ब्युरोकेरासीका साथीहरुमा अझै पनि छुवाछूतको मानसिकता कायम छ। मेरो पार्टी भित्र पनि यो समुदाय हो है भने किसिमका देख्छौँ। त्यही भएर हामी यो बाट मुक्त हुने कि नहुने ?’ मन्त्री विकले प्रश्न गरिन्।

पितृसताबाट सुदूरपश्चिम अझै पनि माथि उठन नसकिरहेको उनले बताइन्। ‘दिन दिनै छुवाछूत भइनै राखेको छ। दिन दिनै हाम्रा छोरीबेटीहरु असुरक्षित भएका भयै छन’ मन्त्री विकले भनिन्। सरकारले गर्न नसकेका कामहरु संघ संस्थाहरुले गर्दै आइरहेको उनले बताइन्। 

जाति नाममा विभिन्न हिंसाहरु भइरहेकाले साझा अवधारणा बनाएर अगाडि बढनुपर्ने उनले बताइन्। कानुनी पक्ष पनि फितलो रहेको उनको भनाइ छ। अन्तरधार्मिक शान्ति महासंघ नेपालका कार्यसमिति सदस्य नेपोलियन राईले धर्मका नाममा कानुन भए पनि कानुनी राज्य नभएकाले अझै पनि विभेद रहि राखेको बताए। संविधानमा कानुन भए पनि व्यवाहारमा नभएको उनले बताए।

कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश कार्यसमिति सदस्य धनराज पण्डित, नेकपा एमालेका प्रदेश कमिटी उपसचिव नरबहादुर बिक, नेकपा माओवादी प्रदेश कार्यसमिती सदस्य बालाराम उपाध्याय, नेकपा एकिकृत समाजवादीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी लगायतले मन्तव्य राखेका थिए।

कार्यक्रममा इन्सेकमा कार्यरत अधिवक्ता सम्झा श्रेष्ठले मानव अधिकारको विश्वव्यापी आवाधिक समीक्षा (युपीआर) का कार्यपत्र राखेकी थिइन। यस्तै, कार्यक्रममा अन्तरधार्मिक शान्ति महासंघ नेपालको कार्यक्रम संयोजक विमला श्रेष्ठले संस्थाका गरेका गतिविधिका बारेमा जानकारी गराईकी हुन्। कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस