सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी घर भएका विद्यार्थीले अब निःशुल्क होटेल व्यवस्थापन पढ्न पाउने

२०८१ साउन ९, ०७:०६ नारायण अवस्थी

धनगढीः धनगढी बहुप्राविधिक शिक्षालयमा निःशुल्क होटेल व्यवस्थापन पढ्न पाइने भएको छ।

धनगढी स्थायी बसोबास भएका विद्यार्थीहरूले वडा कार्यालयले दिने छात्रवृत्तिका आधारमा निःशुल्क अध्ययन गर्न पाउने भएका हुन्। उपमहानगरपालिकाले सञ्चालन गरेको धनगढी बहुप्राविधिक शिक्षालयमा तीन वर्षे डिप्लोमा इन होटल म्यानजमेन्ट विषय पढ्न पाइने व्यवस्था गरिएको हो।

धनगढी उपमहानगरपालिकाले सिटिइभिटीसँगको सहकार्यमा वडा नम्बर ६ रघुनगरमा धनगढी बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ। शिक्षालयमा तीन वर्षे होटेल म्यानजमन्टको अध्यापन हुने गरेको छ। शिक्षालयमा धनगढी स्थायी बसोबास भएका विद्यार्थीहरूले मात्र निःशुल्क पढ्न पाउने व्यवस्था गरिएको हो।

वडा कार्यालयको सिफारिसमा हरेक वडाबाट २ जना विद्यार्थीले निःशुल्क अध्ययन गर्न पाउँछन् भने शुल्क तिर्नेको हकमा तीन वर्षका लागि एक लाख ५३ हजार तीन किस्तामा तिर्नुपर्ने शिक्षालयका कार्यक्रम संयोजक हेमराज जोशीले बताए। उनले धनगढी बहुप्रविधिक शिक्षालयमा होटेल व्यवस्थापनको गुणस्तरीय पढाइ हुने बताए। ‘धनगढी बहुप्राविधिक शिक्षालय सुदूरपश्चिमको एक मात्र सिटिक्षभिटीसँगको सहकार्यमा चलाइएको शिक्षालय हो।

होटेल व्यवस्थापन पढ्न चाहने विद्यार्थीले यस शिक्षालयमा निकै कम शुल्क तिरेर पढ्न पाउँछन् भने धनगढी स्थायी बसोबास भएका विद्यार्थीहरूले वडा कार्यालयबाट छात्रवृत्तिमा पढ्न पाउँछन्,’ जोशीले भने। दुईवटा आफ्नै भवन भएको शिक्षालयमा कक्षा कोठा, प्रयोगशाला, उपकरण र प्रयोगात्मक सिप सिक्न आवश्यक उपकरण खरिद गरिएको छ। यो वर्ष मात्रै शिक्षालयमा आवश्यक पर्ने ५० लाख मूल्यको सामान खरिद गरिएको छ।

यस्तै धनगढीका होटेलहरूमा लगेर विद्यार्थीहरूलाई प्रयोगात्मक अभ्यास गराउने व्यवस्था समेत मिलाइएको शिक्षालयका कार्यक्रम संयोजक जोशीले बताए। धनगढी बहुप्राविधिक शिक्षालय सिटिइभिटीसँगको सहकार्यमा स्थानीय तहले चलाएको होटेल व्यवस्थापन पढाइ हुने कलेज हो।

भौतिक तथा अन्य आवश्यक सुविधा भएको शिक्षालयमा गुणस्तरीय सिप सिकाइने दाबी कार्यक्रम संयोजक जोशीको छ। धनगढी बहुप्राविधिक शिक्षालयमा हरेक शैक्षिक सत्रका लागि ४० जना विद्यार्थी मात्र भर्ना लिने गरिन्छ। अध्ययन गर्दागर्दै काम गर्न इच्छुक विद्यार्थीका लागि धनगढीका विभिन्न होटेलहरूमा काम खोज्ने कार्यमा समेत शिक्षालयले सहयोग गर्ने दाबी गरिएको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस