सुदूर नेपाललाई विश्वसँग जोड्दै

विदेश पलायनले घरमा बुवाआमा एक्लै, परलोक हुँदा सहभागी हुनै कठिन

२०८१ साउन ९, ११:१७ नारायण अवस्थी

धनगढीः घरमा बुढा आमाबुवालाई छोडेर विदेश गएकाहरुलाई अन्तिम दाहसंस्कारमा सहभागी हुन समस्या हुने गरेको छ।

रोजगारीका लागि विभिन्न देशमा गएका छोराछोरीलाई घरमा आमाबुवाको निधन हुँदा तत्काल स्वदेश फर्कन कठिन हुने गरेको छ। साथै छोराछोरी नआउन्जेल मृत शरीरलाई घरमै राखेर अत्यष्टि गर्नुपर्ने बाध्यता छ। बढ्दो वैदेशिक रोजगारीले आर्थिक समस्या टरे पनि परिवार र समुदायमा भने सामाजिक समस्या देखिन थालेका हुन्।

सन्तानहरू विदेश हुँदा घर खर्च चलाउन समस्या नभए पनि आमा बुवाले अन्तिम अवस्थामा छोराछोरीको अनुहार हेर्न नपाउने स्थिति बनेको छ। स्वदेशमा रोजगारीको अवसर नहुँदा बाध्य भएर कामको खोजीमा विदेश जानुपर्दा मर्दा र पर्दा जन्मदाताकै जिउँदो अनुहार हेर्न नपाउने पीडा सन्तानहरूले भोग्नुपरेको छ।
सजिलो छैन तुरुन्तै घर पुग्न
गत फागुन १२ गते धनगढी उपमहानगरपालिका–१ पशुपति टोलका गणेशबहादुर धानुकको निधन भयो। छोरा वैदेशिक रोजगारीका लागि डेनमार्क भएकाले मृतक गणेशबहादुरको अन्तिम संस्कार तेस्रो दिन गर्नुपर्यो। मृत शरीर शव चिस्यान यन्त्रमा राखेर छोरा आपछि मात्रै धानुकको अन्तिम संस्कार गरिएको थियो।

यस्तै, धनगढी–१२ जुगेडा गुम्बा टोलका ६० वर्षीय बुद्धिराम गुरुङको असार ३० गते देहान्त भयो। मृतक गुरुङका छोरा जीवन रोजगारीका लागि दुबईमा थिए। उनी नआउन्जेल अन्तिम संस्कार गर्न मृत शरीरलाई पाँच दिनसम्म राख्नु पर्यो। एक वर्ष अगाडि दुबई गएका जीवन गुरूङले बुवाको निधनपछि जागीर छोडेर घर फर्कनु परेको छ। उनले भर्खरै नयाँ कम्पनीमा काम थालेकाले किरिया बस्न बिदा पाएनन्।

गुरूङले भिसा रद्द गरेर घर फर्किनु परेको हो। उनी बुवाको निधन भएको पाँचौ दिनमा मात्रै घर पुगेका हुन्। भर्खर अर्को कम्पनीमा काम गर्न सुरू गरेकाले उक्त कम्पनीले घर आउन बिदा नदिएकाले भिसा नै रद्द गरेर घर आएको जीवनले बताए। भिसा रद्द गर्न समेत चार दिन लागेको उनले बताए।

‘गत साल घर आएर दुबई फर्केको थिए। यता बुवा बिरामी भएर बित्नु भो’, दुबईमा भर्खरै पुरानो कम्पनी छोडेर नयाँमा काम गर्न थालेको थिए त्यसैले कम्पनीले घर आउन बिदा दिएन’, उनले भने, ‘त्यहाँको सिस्टमले नै बिदा दिन नमिल्ने भो, अनि भिसा रद्द गरेर घर आउँदा पाँच दिन लाग्यो।’
बढ्दो विदेश पलायनले बुढाबुढी एक्लै
धनगढी उपमहानगरपालिकामा मात्रै मंसिरयता ९१ जना व्यक्तिको अन्तिम संस्कार गर्न आफन्त र छोराछोरी घर नपुगुन्जेसम्म पर्खनु परेको तथ्याङ्क छ। स्वदेशमै रोजगारीको अवसर नहुँदा युवाहरूले बाध्य भएर बृद्ध आमाबुवा घरमै छोडेर विदेश जानु परेको हो। स्वदेशमा रोजगारीको अवसर नहुँदा बिरामी बुवालाई छोडेर विदेश जानू परेको जीवन गुरूङले बताएका छन्।

उनले राज्यले काम गर्ने अवसर निर्माण गर्न नसक्दा युवाहरूले बाध्य भएर विदेश जानु परेको र त्यसको सबभन्दा धेरै पीडा घरमा रहेका वृद्ध आमाबाले भोग्नुपरेको बताएका छन्। ‘आफ्नो देशमा काम गर्ने अवसर छैन। कामको खोजीमा विदेश जानुपर्ने अवस्था छ’, उनले भने, ‘अन्तिम अवस्थामा बुवालाई भेट्न नपाउनुको पीडा त शब्दमा बयान गर्न सकिन्न।’ धनगढी उपमहानगरपालिकाले शव चिस्यान यन्त्र सेवा प्रदान गरेकाले आफन्त र छोराछोरी घर नपुग्दासम्म मृत शरीर सुरक्षित राख्न सक्ने अवस्था बनेको छ। तर सुदूरपश्चिमका अन्य क्षेत्रमा भने मृत शरीर सुरक्षित राख्न सक्ने अवस्था छैन।

जसका कारण छोराछोरी घर नपुग्दै अन्तिम संस्कार गर्नुपर्ने बाध्ययता छ। स्वदेशमै सरकारले रोजगारीको अवसर सिर्जना गर्न सके आफ्नो जस्तो पीडा अरू युवाले भोग्नु नपर्ने जीवन गुरुङ बताउँछन्। युवाहरूले स्वदेशमै उद्यम गर्न नपाउँदा वैदेशिक रोजगारीको सहारा लिनुपर्ने बाध्यता छ। कृषि, पर्यटन, उद्योग, व्यापार र व्यवसायमा रोजगारीको सम्भावना भए पनि राज्यले अवसर निर्माण गर्न नसक्दा बर्सेनि लाखौ युवाहरूले विदेश पलायन हुनुपरेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस