धनगढीमा बिच सडकका रुख काटियो, जराका कारण ठाउँठाउँमा दुर्घटना
धनगढीः सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले निर्माण गरेका सडकमा मात्र २ सय ८४ वटा रुखहरु छन्।
सहरी विकासले सडकको बिच भागमा रुख छोडेर सडक कालोपत्र गर्दै धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ। धनगढीमा सडक क्षेत्रका १८ वटा रुख डिभिजन वन कार्यालय, धनगढीले काटेको छ। तर, रुखको जरातिरको भाग भने सडकमै छोडिएको छ। दुर्घटना रोक्न रुख काटिएको भएपनि बाँकी भाग सडकमै छोडिदिँदा दुर्घटना हुन थालेको हो।
धनगढी उपमहानगरपालिका–४ भगवती टोलका स्थानीय धिरेन्द्रबहादुर धामीले एक मोटरसाइकल र आटो रुखको जरामा ठोक्किएको बताए। उनले भने, ‘बेलाको एक चौधरी भाइ रुखको जरामा ठोक्किनुभयो। रुखको जरामा ठोक्किएर दुर्घटना भएको रहेछ। यो सडकमा विद्यार्थी पनि हिड्छन्। गाडीहरु धेरै गुड्छन्।’
धनगढीमा सडकको बिच भागमा परेका रुखहरु हटाउन थालेपछि उत्साहित भएका स्थानीय रुखका जरातिरको भागले दुर्घटना हुन थालेपछि चिन्तित भएका छन्। भगवती टोलको चोक नजिकको जरामा एक मोटरसाइकल र विद्युतीय रिक्सा एक आपसमा ठोक्किएका छन्। शुक्रवार रुखको बाँकी रहेको भागमा ठोक्किएर मोटरसाइकल चालक घाइते भएका छन्। डिभिजन वन कार्यालयले काम लाग्ने रुखको भाग मात्र काटेर लगेको छ।
बाँकी भाग सडकको बिचमै छोडेकाले दुर्घटना हुन थालेको छ। तुलसीचोकका रतनसिंह बोहराले काटिएका रुखका जरामा ठोक्किएर दुर्घटना हुने गरेको बताए। उनले भने, ‘रुख काटेका छन्। तर, जराहरु बाँकी नै छन्। एक अटो र बाइक ठोक्कियो। हामीले भनेको कोही सुन्दैनन्।’
डिभिजन वन कार्यालय, जिल्ला प्रशासन, नापी कार्यालय, मालपोत कार्यालय र जनप्रतिनिधसहितको टोलीले सडकको बिच भागमा परेका रुखहरुको स्थलगत अनुगमन र अध्ययन गरेको थियो। सडकको बिच भागमा परेका जोखिमपूर्ण रुखहरु हटाइएको छ। तर, रुखका जरा हटाउन डिभिजन वन कार्यालय, र वडा कार्यालय तथा धनगढी उपमहानगरपालिकाले वास्ता गरेका छैनन्। यसबाट दुर्घटनाको जोखिम झनै बढेको छ।
धनगढी उपमहानगरपालिका–४ का वडाध्यक्ष बुद्धिबहादुर खड्काले स्थानीयले दाउरा बनाउने भनेपछि जरा छोडिएको दाबी गरे। उनले भने, ‘तल नम्बर हुन्छ भनेर वन विभागले मानेन। स्थानीयले दाउरा बनाउँछौ भनेका छन्।’ धनगढी उप–महानगर क्षेत्रभित्र मात्र १५ दशमलव ५२ किलोमिटर लम्बाई रहेको धनगढी चक्रपथमा सबैभन्दा धेरै रुख छन्। चक्रपथसहित तुलसीपुर–भगवटी टोल सडक, जाली–उत्तरखिम्लीना सडक, पिपलचौतारा–जाई–मट्यारी सडक, नेपाल रेडक्रस–तारानगर सडकमा पनि रुख छन्। यसैगरी हाईवे–शिवपुरी सडक, लक्ष्मीनगर सडक, मट्यारी–नजरिया–भागेश्वर सडकमा पनि रुखहरु छन्।