सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा अपराध गरेर फरार भएका ४१ जना पक्राउ

२०८१ साउन ४, ०९:३७ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरीमा अपराध गरेर फरार भएका ४१ जना पक्राउ परेका छन्।

विभिन्न अपराधमा संलग्न तर फरार भएका ४१ जनालाई पक्राउ गरेर जिल्ला अदालत कैलालीमा बुझाएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाले बताए। अदालतबाट अपराधमा दोषी ठहर तर लुकेर बसेका ४१ जनालाई नियन्त्रणमा लिएको उनले बताएका हुन्। पक्राउ परेका ४१ जनाले १४ वर्ष एक महिना २७ दिन कैद काट्नुपर्ने देखिएको छ।

साथै ती फरार प्रतिवादीबाट ९ लाख ४४ हजार ७ सय २४ रुपैयाँ जरिबाना समेत असुल भएको प्रहरीले बताएको छ। आर्थिक वर्ष २०८०/८१ मा सो संख्यामा विविध अपराधमा संलग्नहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएर अदालतमा पेस गरेको हो। सो आर्थिक वर्षको अन्तिम तीन महिनामा ३० जना फरार दोषीलाई पक्राउ गरिएको छ।

३ वर्ष २ महिना तीन दिन कैद र ७ लाख २६ हजार ९६५ जरिबाना समेत असुल भएको इलाका प्रहरी कार्यायल मालाखेतीका डीएसपी थापालले बताए। उनका अनुसार, लागुऔषध, बैंकिङ कसुर, वन पैदावार ओसारपसार, चोरी, बहुविवाह, जबरजस्ती करणी लगायत अपराधमा जिल्ला अदालतबाट दोषी ठहर तर लामो समयदेखि फरार भएकाहरुलाई पक्राउ गरेर अदालतमा पेस गरिएको उनले बताए।

कमेन्ट लोड गर्नुस