दार्चुला प्रदेश ७ को ८ औं खुला दिसामुक्त जिल्ला घोषणा हुँदै
दार्चुला देशकै ५२ औ तथा प्रदेश नम्बर ७ को आठौं जिल्लाको रुपमा खुला दिसामुक्त जिल्ला घोषणा हुँदैछ। खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले यहि बैशाख २५ गते जिल्लालाइ खुला दिसामुक्त घोषणा गर्न लागेको हो। दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाई अभियान भन्ने नाराका साथ जिल्ला लाई खुला दिसामुक्त जिल्ला घोषणा गर्न लागीएको हो। मुख्यमन्त्री त्रिलोचन भट्टले जिल्लालाई खुलादिसा मुक्त घोषणा गर्नु हुनेछ।
सात नम्बर प्रदेशको कैलाली खुला दिसामुक्त जिल्ला घोषणा हुन बाँकी छ । दार्चुलाका कुल २४ हजार ६ सय १८ घरधुरी मध्ये १८२ घुरधुरीले साझेदारीमा शौचालय निर्माण गरेका छन् भने बजार क्षेत्रमा ७ शौचालय निर्माण गरिएका छन्। बाँकी विद्यालय, मन्दिर र घरहरुमा गरी कुल २४ हजार ४ सय ५९ बढि शौचालय निर्माण गरिएको खानेपानी तथा सरसफाई सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी दिए। सदरमुकाम खलंगामा हुने खुलादिसामुक्त घोषणा सभाको लागि आवश्यक तयारी पुराभएको डिभिजन प्रमुख रावलले बताए।