सुदूर नेपाललाई विश्वसँग जोड्दै

पीडित किसानबाट माग्यो कैलारी गाउँपालिकाले निवेदन

२०८१ असार २८, ११:२५ कमल सावद

धनगढीः कैलालीको कैलारी गाउँपालिकाले पीडित किसानलाई निवेदन दिन आग्रह गरेको छ।

गाउँपालिकाभित्र सञ्चालित सहकारीहरूले पावर टिलर र पानी मोटर वितरणमा ठगेको आरोप लागेपछि गाउँपालिकाले किसानलाई निवेदन दिन आग्रह गरेको हो। कैलारी गाउँपालिका क्षेत्रमा सञ्चालनमा रहेका अखुवा कृषि सहकारी संस्था लिमिटेड र कालीमाई बहुउद्देश्य सहकारी संस्था लिमिटेडले किसानहरूलाई पावट टिलर वितरण गर्ने भन्दै रकम सङ्कलन गरेको थियो। तर, किसानले पावर टिलर र पानी मोटर नपाएपछि ठगि भएको विषय बाहिरिएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको बाल सशक्तीकरण नामक संस्थाले समेत कैलारी गाउँपालिकामा ५० प्रतिशत अनुदानमा पावर टिलर र पानी मोटर वितरण गर्ने भन्दै किसानबाट रकम संकलन गरेको थियो। कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले पीडित  किसानहरूलाई निवेदन दिन माग गरेको बताए। उनले निवेदन र प्रमाणसहित आउने किसानलाई सहकारीहरूले रकम फिर्ता गर्ने गरेको बताए।

उनले भने, ‘बिहिवार हामीले सूचना सार्वजनिक गरेका हौ। एक जनाको फोन आएको थियो। पछि रकम फिर्ता पाए, भनेर फोन गर्नुभयो। पीडितहरू छन्, आज पनि आउछन्।’ तर, सहकारीहरूले प्रत्येक किसानबाट एक लाख २५ हजारसम्म रकम सङ्कलन गरेका थिए।

७५ प्रतिशत अनुदानमा पावर टिलर र पानी मोटर वितरण गर्ने योजना थियो। सुरो नेपालबाट पावर टिलर र पानी मोटर खरिद गरेर एक लाख २५ हजारसम्म कैलारी गाउँपालिका क्षेत्रका किसानलाई सहकारीहरूले बिक्री गरिएको थियो। सो गाउँपालिका क्षेत्रका सहकारी तथा बाल सशक्तीकरणले ५८ हजार सात सय ५० रुपैयाँ मात्र सुरो नेपाललाई दिने सम्झौता गरेका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस