सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकाले रूसी आक्रमण विरुद्ध युक्रेनको रक्षार्थ नाटोलाई सहयोग गर्ने

२०८१ असार २६, ०७:५० खबर संवाददाता

एजेन्सीः अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी आक्रमण विरुद्ध युक्रेनको रक्षा गर्न नाटोको समर्थन गर्ने वाचा गरेका छन्।

‘पुटिन युक्रेनमा पूर्ण कब्जा गर्न चाहनुहुन्छ। उहाँले युक्रेनको लोकतन्त्रको अन्त्य, संस्कृतिलाई नष्ट गर्न र युक्रेनको भौगोलिक अस्तित्वलाई मेटाउन चाहनुहुन्छ,’ राष्ट्रपति बाइडेनले मङ्गलवार वाशिङ्गटन डीसीमा आयोजित तीन दिने नाटो शिखर सम्मेलनको उद्घाटनलाई सम्बोधन गर्दै भने।

उनले संयुक्त राज्य अमेरिका, जर्मनी, नेदरल्याण्ड्स, रोमानिया र इटालीले युक्रेनलाई पाँच अतिरिक्त रणनीतिक हवाई रक्षा प्रणालीका उपकरणहरू प्रदान गर्ने बताए। बाइडेनले भने, ‘संयुक्त राज्य अमेरिकाले युक्रेनलाई महत्वपूर्ण हवाई प्रतिरक्षा प्रणाली (इन्टरसेप्टर) निर्यात गर्ने सुनिश्चित गर्नेछ। अरू कुनै देशले यो सहायता प्राप्त गर्नुअघि युक्रेनले यो सहायता पाउनेछ।’

उनले युक्रेन स्वतन्त्र देश रहेको र स्वतन्त्र रहँदै युद्ध समाप्त हुनेमा जोड दिए। ‘रूसको विजय हुने छैन, युक्रेन विजयी हुनेछ,’ राष्ट्रपति बाइडेनले भने। युक्रेनको हवाई रक्षा सुदृढीकरण सम्बन्धी संयुक्त वक्तव्यमा अमेरिकी राष्ट्रपति जो बाइडेन, नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक सुफ, जर्मन चान्सलर ओलाफ स्कोल्ज, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, रोमानियाका राष्ट्रपति क्लाउस इओहानिस र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हस्ताक्षर गरेका छन्।
 

कमेन्ट लोड गर्नुस