सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकालीको सतह बढ्दै गएपछि सीमाका सबै पुल बन्द

२०८१ असार २३, ०४:०७ खबर संवाददाता

दार्चुलाः निरन्तर वर्षाका कारण सीमा नदी महाकालीको सतह बढ्दै गएपछि सीमा नाकाका पुलहरू बन्द गरिएका छन्।

सम्भावित जोखिमलाई मध्यनजर गरी नेपाल–भारत सीमा नदी महाकालीमा बनेका सबै झोलुङ्गे पुल बन्द गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरूमा आवतजावतमा रोक लगाइएको छ। बिरामी र अतिआवश्यक काम बाहेकलाई नेपाल–भारत दुवै क्षेत्रमा आउजाउमा रोक लगाइएको दार्चुलाका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले बताएका छन्।

जिल्ला सदरमुकाम खलंगामा रहेको पुलघाट खलंगा, तिग्रम, दत्तु, जौलिजिवी, बाकु, लाली, मल्घट्टे, माललगायतका पुलहरूमा आकस्मिकबाहेकको आवतजावत बन्द गरिएको हो। सम्भावित जोखिमलाई मध्यनजर गरी नदी किनारमा नजान स्थानीयलाई आग्रह समेत गरिएको छ।

सदरमुकाम क्षेत्रको महाकाली कोरिडोरमा बिहानैदेखि माइकिङ गरेर सबैलाई नजान र सबैलाई सचेत रहन आग्रह गरिएको डिएसपी सिंहले बताएका हुन्। त्यस्तै निरन्तरको वर्षाका कारण महाकाली लोकमार्गको दार्चुला–गोकुलेश्वर सडक खण्डको पनेबाज क्षेत्रमा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस