सुदूरपश्चिममा खुलेका अधिकांश सहकारी व्यक्ति विशेषको कब्जामा
धनगढीः ‘सहकारीले सबैका लागि राम्रो भविष्य निर्माण गर्दै छ’ भन्ने नारासहित शनिवार धनगढीमा पनि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइयो।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मातहतको सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, धनगढीले दिवस मनाएको हो। तर, सहकारी क्षेत्रका विज्ञहरु नै सहकारीको भविष्य राम्रो रहेको विषयमा ढुक्का थिएनन्। धनगढीमा शनिवार १०२ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने सहकारी क्षेत्रका व्यक्तिहरु सहकारीको राम्रो भविष्यका लागि नेतृत्व परिवर्तनको माग गरिरहेका थिए।
सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयका निमिक्त रजिष्ट्रार मोहनचन्द्र जोशीले सुदूरपश्चिमका सहकारीहरुको नेतृत्व एकै व्यक्तिले कब्जा गर्दै आएको बताए। उनले भने, ‘व्यक्ति केन्द्रित सहकारी संस्थाहरु बढी छन्। फलानोको सहकारी भन्छन्। सहकारी व्यक्तिको चाहिएको होइन। समूहको र समुदायको सहकारी चाहिएको हो। सबै त्यस्तै होइन। यस्तो प्रवृति हुनु हुँदैन भन्ने हो।’
प्रदेशभित्र तीन सय ८२ वटा सहकारीहरु सञ्चालनमा छन्। प्रदेशभित्र खुलेका सहकारीहरुमा लामो समयसम्म एउटै व्यक्तिले पटकपटक नेतृत्व गर्दै आएको पाइएको छ। अधिकांश सहकारीहरुमा एउटै व्यक्तिले कब्जा गरेपछि बचतकर्ताहरुको विश्वास कम हुँदै गएको छ। समयमा सहकारीहरुको नेतृत्व परिवर्तन र सरकारी पक्षबाट नियमित अनुगमन निरीक्षण हुनुपर्ने बचतकर्ताको माग छ।
नेतृत्वको मनोमानीका कारण सुदूरपश्चिम प्रदेशभित्र सञ्चालित सहकारीहरु आर्थिक सङ्कटमा पर्ने जोखिम समेत बढेको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर मदनसिंह धामीले मेरो सहकारी भन्नेले समस्या गरेको बताए। उनले भने, ‘म भन्ने आयो। मेरो सहकारी, मेरो समूह, मेरो पार्टी भन्छन। हामी भन्ने आएन। समस्या छ। विश्वमा अनुसन्धान भएको छ। तर, अनुसरण भएको छैन। हामीकहाँ समस्या छन्। हाम्रा ऐन पनि मानिएका छैनन्।’
सुदूरपश्चिमा सहकारीहरुले एक अर्ब ४५ करोड ५५ लाख २७ हजार १३० रुपैयाँ लगानी गरेको अनुमान छ। तर, प्रदेश सरकारसँग सहकारी क्षेत्रको पुँजीको विषयमा पूर्ण विवरण छैन। सुदूरपश्चिममा ३८२ वटा सहकारीहरुले सात अर्ब ९४ करोड ६७ लाख ४६ हजार ६७० रुपैयाँ बचत परिचालन गरेका छन्। तर, सहकारीहरुको ऋण निकै न्यून मात्र असुली भएको छ। लगानी गरेको ऋणको व्याजसमेत फिर्ता नभएकाले सहकारीहरु आर्थिक सङ्कटमा फस्ने जोखिम बढेको छ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापाले सहकारी क्षेत्रमा जागरुप्ता आवश्यक रहेको बताइन। उनले सहकारीको नेतृत्वसहित बचतकर्ताहरुलाई समेत तालिमको आवश्यक रहेको बताइकी छन्। सुदूरपश्चिममा एउटै व्यक्तिले पटकपटक सहकारी संस्थाको नेतृत्व गर्दा बचतकर्ताको विश्वास घट्दै गएको छ।
एउटै व्यक्तिले पटकपटक सहकारी संस्थाको नेतृत्व गर्दा त्यसको असर ऋण असुलीमा समेत पर्ने गरेको पाइएको छ। केही सहकारीमा नेतृत्व परिवर्तन हुने गरेपनि अधिकांश सहकारीमा भने व्यक्ति विशेषकै कब्जा रहने गरेको पाइएको हो। नेपाल सरकारले तीन खम्बे अर्थ–नीतिभित्र सहकारीलाई राखेको छ। तर, सहकारी क्षेत्र व्यक्ति विशेषले सहकारी कब्जा गर्दा बचत र लगानी जोखिममा पर्ने खतरा बढेको छ।