सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा विद्यालय बन्द कि सुचारुः उप–महानगरपालिकाको अपरिपक्क निर्णयले अन्योलता

२०७६ जेठ २१, ०३:०९ खबर संवाददाता

आईतवार साँझ ५ बजे धनगढीमा एकाएक खवर फैलियो ७ दिनका लागि नीजि र सरकारी विद्यालय बन्दको। अत्याधिक गर्मी बढेको भन्दै धनगढी उप–महानगरपालिकाले २० गतेदेखि २६ गते सम्म विद्यालय बन्द गर्न निर्देशन दिएको थियो। तर सोही राती हावाहुरी सहित बर्षा भयो र विद्यालय बन्दको निर्णय गर्नु अगाडी कुनै पनि निकायसंग समन्वय नगरेको भन्दै दोश्रो दिन सोमवार अधिकासं सरकारी विद्यालय नै सुचारु रहे। धनगढी क्षेत्रकै ११ वटा विद्यालयका प्रधानाध्यापकहरुले त विद्यालय सुचारु गर्न दिन माग गर्दै उप–महानगरपालिकामा ज्ञापन पत्र समेत बुझाए। 

त्यस्को दोश्रो दिन मंगलवार आज धनगढी उप–महानगरपालिकाले मौसम अनुकुल भएको भन्दै २२ गतेदेखि सबै विद्यालय सुचारु गर्न निर्देशन जारी गरेको छ। तर आफुले गरेको निर्णय २ दिन पनि कार्यान्वयन गर्न नसकेको र विद्यार्थी तथा अभिभावकहरुलाई अन्योलमा राखेको भन्दै उप–महानगरपालिकालको विरोध हुन थालेको छ। ४० डिग्री सेल्सियस तापक्रम भएको दिन जेठ १९ गते ७ दिन विदाको निर्णय गरेको उप–महानगरपालिकाले आज ३७ दशमलव ६ डिग्री सेल्सियस तापक्रम भएपनि मौसम अनुकुल भएको भन्दै विद्यालय बन्दको निर्णय फिर्ता लिएको हो। मौसम पुर्वानुमान महाशाखाले भोलीदेखि अझै गर्मी बढ्दै जाने सम्भावना रहेको जनाएको छ। उप–महानगरपालिकाले विद्यालय बन्दको निर्णय गरेपछि धेरै विद्यार्थीहरु गर्मी छल्नका लागि पहाड गईसकेका छन् भने कतिपय अभिभावहरु आफ्ना नानीवावुलाई घुमाउन अन्यत्र लगिसकेका छन्। तर कहिले विद्यालय बन्द त कहिले सुचारुको निर्णय आउन थालेपछि सबैमा अन्योलता छाएको छ। 

‘आफुले गरेको निर्णय कार्यन्वयन गराउन नसक्ने स्थानिय तहले किन निर्णय गर्नु, बिदा छ भनेर बालबालिकालाई चिसो ठाउमा घुमाउन लिएर गएका होलान अभिभावक अब उनिहरुको पढाइ त रोकियो नि?’ पत्रकार प्रकाश मिश्रले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्। सामाजिक सञ्जाल फेसवुकमै विद्यालय बन्दको निर्णयपछि नानीबाबुलाई पहाड पठाईसकेको भन्दै मनोज देउवाले फेरी विद्यालय सुचारुको निर्णय गरेर नाटक गरेको प्रतिक्रीया दिएका छन्। 

नीजि विद्यालयहरुले त आज पनि आगामी आईतवार मात्रै विद्यालय सुचारु हुने भएकाले कुनै भ्रममा नबस्न सुचना जारी गरेका छन्।जस्ले गर्दा उप–महानगर क्षेत्रका कुनै विद्यालय बन्द र कुनै विद्यालय सुचारु हुँदा विद्यार्थी र अभिभावकहरुमा थप अन्योलता बढ्ने देखिएको छ।  उप–महानगरपालिकाले कुनै पनि निकायसंग छलफल नगरि विद्यालय बन्दको ठाडो आदेश दिएकाले यस्तो समस्या भएको धेरेको गुनासो छ। 
 

कमेन्ट लोड गर्नुस