सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा १२९ युवाले लिए सिपमुलक तालिम, ९१ जना भए रोजगार

२०८१ असार ७, ०६:५६ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले २७ जनालाई पलम्बिङको तालिम दिएकोमा १७ जनाले रोजगारी पाएका छन्।

चालु आर्थिक वर्षमा २५ जनाले इलेक्टीकको तालिम लिएकोमा १६ जनाले रोजगारी पाएका छन्। उपमहानगरपालिकाले २१ जनालाई वेल्डिङको तालिम दिएकोमा १६ जनाले रोजगारी पाएका हुन्। फर्निचरमा १६ जनाले तालिम लिएकोमा पाँच जनाले रोजगार पाएका छन्।

धनगढी उपमहानगरपालिकाका रोजगार शाखा संयोजक चन्द्रबहादुर महराले सिप सिकेकाहरुले रोजगारसमेत पाएको बताए। उनले भने, ‘पाँचवटा क्षेत्रमा तालिम दिएका छौ। उनीहरुमध्ये धेरैले रोजगारी पाएका छन्।’ २० जनालाई खाजा–नास्ताको तालिम दिएकोमा सबै स्वरोजगार भएका छन्।

उपमहानगरपालिकाले २० जनालाई गार्मेन्ट तालिमका लागि काठमाण्डौ पठाइएको छ। उनीहरु सबैले गार्मेन्टमा काम पाएका छन्। उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा पाँचवटा क्षेत्रमा तालिम सञ्चालन गरेको थियो। पाँच क्षेत्रमा एक सय २९ युवाहरुले सिप लिएका छन्। तालिम लिएकामध्ये ९१ जना रोजगार तथा स्वरोजगार बन्न सफल भएका छन्।

उपमहानगरपालिकाले विभिन्न संस्थासँगको सहकार्यमा युवाहरुलाई सिप सिकाउने र रोजगार तथा स्वरोजगार बनाउने नीति लिएको छ। रोजगारदता तथा श्रम बजारको माग र युवाहरुको सिपमा फरक पर्ने भएकाले रोजगारी सिर्जना गर्न र युवाहरुलाई स्वरोजगार बनाउन समस्या हुने गरेको छ। युवाहरुसँग सिप भन्दा पनि औपचारिक शिक्षा मात्र हुने भएकाले समस्या हुने गरेको हो।

यसका लागि धनगढीमा विद्यालय नै सञ्चालन गरेर युवाहरुलाई सिप सिकाउने काम हुँदै आएको छ। उपमहानगरपालिकाका रोजगार शाखा संयोजक महराले रोजगार सेवा केन्द्रमा तालिमका लागि सम्पर्क गर्न भनेका छौँ। उनले भने, ‘हामीले तालिम मात्र दिदैनौ। तालिमपछि रोजगारका लागि पदस्थापना पनि गर्न सहयोग गर्छाै।’ नेपाल युथ फाउन्डेसनको सहकार्यमा २०८० असोज ६ गते खुलेको धनगढी भोकेस्नल स्कुलमा यो वर्ष चारवटा सिपमुलक तालिम सम्पन्न भएका छन्।

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस