टीकापुर घटनामा दोषी ठहर भएकालाई कारबाही हुन्छः प्रधानमन्त्री
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी ठहर भएकालाई कारबाही हुने बताएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रत्यक्ष प्रश्नोत्तरका क्रममा सांसद तेजुलाल चौधरीले सोधेको प्रश्नको जवाफमा कैद माफी पनि कानुनअनुसार नै भएको बताए। “टीकापुर घटना एउटा दुःखद हो, घटनाका विषयमा दोषी ठहर भएका हकमा कानुनबमोजिम नै कारबाही हुने कुरा अवगत नै छ,” उनले भने।
केहीले कैद माफीको सुविधा पाएको र केहीलाई कानुन बमोजिम नै हुने बताए। उनले थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताए।
प्रधानमन्त्री दाहालले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सुनाए। उनले संघीय संसद्मा नीति तथा कार्यक्रममा पर्याप्त छलफल भएर बजेट निर्माण हुने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको बताए।
संसद्को कारबाही नियमित हुन नसक्दा नीति तथा कार्यक्रम र बजेट तर्जुमा प्रक्रियामा अपेक्षा गरेबमोजिम रुपान्तरण हुन नसकेको उनको भनाइ छ। नीति तथा कार्यक्रमका विषय सम्बन्धित सबै पक्षसँग गहन छलफल गरी बजेटमा तादाम्यता कायम गरेको बताए।