सुदूरपश्चिम माओवादीमा फेरी दलको नेता फेरिँदै
धनगढीः सुदूरपश्चिम प्रदेशमा माओवादी संसदीय दलको नेता पुनः फेरिने भएको छ।
मंगलबार माओवादीका ११ सांसदहरूलाई प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल दलको नेता परिवर्तन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब तीन घण्टा सो विषयमा छलफल भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री पठाउने बेला संसदीय दलको नेता मानबहादुर धामीले एकलौटी गरेको भन्दै पाँच सांसदले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई मन्त्री नियुक्तिमा निवेदन नै हालेर विरोध जनाएका थिए। हाल ओमविक्रम भाट सरल, अक्कल रावल र लक्ष्मी विक भने मन्त्री भइसकेका छन्।
मंगलबार बिहान भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले तत्काल दलको बैठक राखेर संसदीय दलको नेता परिवर्तन गर्न निर्देशन दिएको बैठकमा सहभागि माओवादीका एक नेताले बताएका छन्। अहिलेका संसदीय दलका नेता मानबहादुर धामीले आफूसँग बहुमत रहेको र बहुमतको आधारमा विधिअनुसार संसदीय दलको नेता भएको बताएका थिए।
जवाफमा प्रचण्डले खगराज भट्टको पक्षमा पनि पाँच सांसद रहेको, सभामुखलाई निष्पक्ष हुँदा दुबै पक्षमा बराबर रहेको र तत्काल भट्टलाई नै दलको नेता बनाउनुपर्ने बताएका थिए। तीन घण्टासम्म चलेको छलफलमा सभामुखसहित सुदूरपश्चिम प्रदेशका सबै माओवादी सांसद, पार्टी इन्चार्ज गिरीराजमणि पोखरेल, सह–इन्चार्ज विना मगर र पार्टी प्रदेश अध्यक्ष हरिराम चौधरी ‘उत्सव’ सहभागी थिए।
संसदीय दलका नेता खगराज भट्टलाई माघ २२ गते बहुमतको आधारमा संसदीय दलको नेताबाट हटाइए मानबहादुर धामीलाई जिम्मेवारी दिइएको थियो। त्यो बेला सभामुख बाहेकका १० सांसदमध्य भट्टको पक्षमा ४ जना सांसद रहेका थिए भने, धामीको पक्षमा ६ सांसद थिए। धामीको पक्षमा रहेका शिव ओली पनि अहिले भट्टको पक्षमा उभिएपछि ५–५ जना पुगेका छन्। अहिले भट्टको पक्षमा ओलीसहित, झपट साउद, रमेश धामी, जानकी कुँवर बम रहेका छन् भने धामीको पक्षमा अक्कल रावल, ओमविक्रम भाट सरल, लक्ष्मी विक र गीता माल रहेका छन्।