सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुक्त हलिया पुनःस्थापनाको नीति निर्माण गर्ने प्रतिबद्धता

२०८१ असार १, ०५:३० रासस

धनगढीः  मुक्त हलिया पुनःस्थापनाका लागि शुक्लाफाँटा नगरपालिकाले नीति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। आज आयोजित एक कार्यक्रममा यस्तो प्रतिबद्धता व्यक्त गरिएको हो।

राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ र राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले संयुक्त रुपमा आयोजना गरेको मुक्त हलिया पुनः स्थापनाका लागि नीति तर्जुमासम्बन्धी छलफल कार्यक्रमका सहभागी जनप्रतिनिधिहरू मुक्त हलिया पुनः स्थापनाका लागि आवश्यक कार्यविधि, निर्देशिकालगायत निर्माण गर्न सहमत भएका हुन्।

नगर प्रमुख रणबहादुर महराले मुक्त हलिया पुनः स्थापनाका लागि खरिद गरिएको जग्गाको छानबिन हुनुपर्ने बताए। ’आवास नै निर्माण हुन नसक्ने जग्गा कुन विधि र प्रक्रियाबाट खरिद गरियो,’ उनले भने, ‘यसको पहिला छानबिन गरौँ, त्यसपछि मुक्त हलिया पुनः स्थापनाका लागि आवश्यक पर्ने नीति निर्माणतर्फ लागौँ।’ पुनःस्थापनाका लागि कस्तो नीति आवश्यक पर्छ, आवश्यकताका आधारमा नीति निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले पुनःस्थापनाका लागि खरिद गरिएको जग्गाको व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा वडा नं ९ का वडाअध्यक्ष रमेशबहादुर ऐरले मुक्त हलियाको पुनःस्थापनाका लागि कार्यविधि बनाएर कार्य अगाडि बढाउनका लागि आगामी कार्यपालिकामा प्रस्ताव पेस गरिने बताए। पच्चिस जना मुक्त हलियाको सुरक्षित आवास निर्माणका लागि चार वर्षअघि नगरपालिकाले जग्गा खरिद गरेको थियो। प्रत्येक परिवारलाई सात धुर जग्गाको जग्गाधनी प्रमाणपत्र पनि उपलब्ध गराइएको छ। खरिद गरिएको जग्गाको मोहडा साँघुरो हँदा आवास निर्माण हुन सकेको छैन।

राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष सिवी लुहारले प्राविधिक त्रुटिका कारण मोहडा साँघुरो राखेर कित्ताकाट गर्दा समस्या आएको बताए। मुक्त हलिया पुनःस्थापनका लागि संस्थासँग त्यसबेला कुनै छलफल भने नभएको उनको दाबी छ। राष्ट्रिय मुक्त हलिया समाज महासङ्घका कार्यकारी निर्देशक हरिसिंह बोहराले मुक्त हलिया पुनःस्थापनका लागि कार्यविधि पारित गर्नुपर्ने र नगरपालिकाको आगामी नीति तथा कार्यक्रम र बजेटमा मुक्त हलियाका सवाललाई सम्बोधन गर्नुपर्ने बताए। 
 

कमेन्ट लोड गर्नुस