मनसुनको प्रभाव पूर्वमै सीमित, तराईका भू–भागहरूमा अत्याधिक गर्मी
धनगढीः हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार आगामी केही दिनसम्म देशका मध्य तथा पश्चिमी तराईका भू–भागहरूमा अत्याधिक गर्मीको सम्भावना देखिएको छ।
आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।