टीकापुरमा रोकिएको ७ करोडको शीतभण्डार अघि बढाउन किसानको माग
कैलाली: टीकापुरमा निर्माणाधीन शीतभण्डारको काम पुनःसञ्चालन गर्ने प्रयास थालिएको छ। शीतभण्डार निर्माण पुनः अगाडि बढाउन रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले शीतभण्डारको लागत अनुमान परिवर्तन गर्न थालेको छ।
दाताले शीतभण्डारको जग निर्माणमा विश्वस्त हुन नसकेपछि २०८० माघ २३ गतेबाट शीतभण्डार निर्माण रोकिएको थियो। रोकिएको शीतभण्डारलाई पुनः सुरु गर्न आयोजनाले छलफल चलाएको छ। ढाँचा समीक्षा, इन्जिनियरहरुद्वारा पुनः लागत अनुमान, विश्व बैंकको समूहसित छलफल गरेको छ। यही जेठ २४ गते निर्माण व्यवसायी र आयोजनाबिच निर्माण सञ्चालन गर्न समयको भिन्नता र विस्तार गर्ने निर्णय भएको छ।
एक हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणका लागि एएम किनारा जेभी धनगढीसँग २०८० असोज २९ गते सम्झौता भएको थियो। शीतभण्डारको निर्माण अवधि २०८१ पुससम्म छ। ७ करोड ६ लाख ६९ हजार ६९० मा निर्माण गर्ने सम्झौता भएको छ। शीतभण्डारमा ८० प्रतिशत अर्थात् पाँच करोड ८५ लाख ३५ हजार ७५२ आयोजना र २० प्रतिशत अर्थात् एक करोड ४१ लाख ३३ हजार ९३८ उपभोक्ताको लगानी रहनेछ।
अहिलेसम्म ९३ लाख २५ हजार खर्च भएको छ। शीतभण्डार बनेपछि किसानलाई विशेषगरी आलु र फलफूल भण्डारमा सहयोग मिल्ने अपेक्षा गरिएको छ। कृषि कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख भरत कँडेल कैलाली जिल्लामा पाँच हजार दुई सय २१ हेक्टर क्षेत्रफलमा आलुखेती हुने गरेको छ। यसमा ८५ हजार ६७७ मेट्रिकटन आलु उत्पादन हुने गरेको उनले बताए।
उनका अनुसार आयोजनाको कार्यक्षेत्र जानकी, टीकापुर र लम्की चुहामा एक हजार ५४५ हेक्टरमा आलुखेती हुने गरेकामा ३४ हजार ६७ मेट्रिकटन आलु उत्पादन हुने गरेको छ। आयोजनाले चालु आर्थिक वर्ष २०८०/८१ मा आलु तरकारी विजवृद्धि कार्यक्रमका लागि १० लाख र आलु विकास (क्षेत्र विस्तार तथा भण्डारण समेत)मा ४० लाख खर्च गरेको छ।
आयोजनाले आगामी वर्ष २०८१/८२ मा आलु बिजवृद्धि सहयोग कार्यक्रमका लागि १० लाख, आलु क्षेत्र विस्तार सहयोग कार्यक्रमका लागि एक करोड २० लाख बजेट प्रस्ताव गरेको कँडेलले बताए। उपभोक्ताले लगानी गर्ने २० प्रतिशत रकम एक करोड ४१ लाख ३३ हजार ९३८ मध्ये उपभोक्ताले कुलो समितिमार्फत ७४ लाख सङ्कलन गरेका छन् भने बाँकी रकम टीकापुर नगरपालिकाले दिने सहमति भएको छ।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले किसानलाई दिइने अनुदानको मापन गर्ने अभ्यास नरहेकाले समस्या भइरहेको बताए। उनले गहुँ उत्पादनमा अनुदानका लागि पहिलो वर्ष १४ किसान सहभागी भएकामा यस वर्ष सय किसानले आवेदन दिएको बताए। किसान बलिराम चौधरीले आलु उत्पादक किसानलाई अनुदान दिँदा अनिवार्य उत्पादनको निश्चितता तोक्न अनुरोध गरेका छन्।
किसान टेकबहादुर रावलले गाउँगाउँमा स्थानीय पालिकाले आलु सङ्कलन केन्द्र राखेर साना किसानका आलु समयमै खरिद गरेर यही भण्डारण गर्ने र साना किसान जोगाउने वातावरण बनाउनुपर्ने बताए। किसान भीम महरले लागत अनुमान बदलेमा लागत बढ्ने भएकाले बढी हुने रकमको २० प्रतिशत किसानले उठाउने विषयमा चासो बढेकाले यसबारे निक्र्योल गर्नुपर्ने बताए।
उनले साना किसान र ठूला किसान भन्दा पनि आयआर्जनमा बढी ध्यान दिँदै क्षेत्र विस्तार कार्यक्रम अझै बढाउनुपर्ने बताए। कार्यक्रममा रानी–जमरा–कुलरिया मूल कुला समितिका उपाध्यक्ष कृतिबहादुर रोकाया, सचिव परशुराम महतो, कुलरिया कुला समितिका अध्यक्ष रविलाल चौधरी, जमरा कुलोका मानबहादुर चौधरी, रानी कुलो समितिका श्रीपाल चौधरीलगायतले समयमै शीतभण्डार निर्माणका लागि पहल गर्न आयोजनासँग माग गरेका छन्।