बझाङमा हेलिकोप्टरबाट सुत्केरी महिलाको उद्धार
धनगढीः बझाङबाट एक जना सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। बझाङको बित्थडचिर गाउँपालिका-६ की २१ वर्षीया बसन्तीदेवी धामीको हेलिकप्टर मार्फत उद्धार गरिएको हो।
धामीलाई उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालयका बिपद् सम्पर्क व्यक्ति नन्द धामीले बताए। जिल्ला अस्पताल बझाङका अनुसार आज बिहान १ बजे तिर सुत्केरी व्यथा लागेर अस्पताल आएकी धामीले ४ बजे शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन। उनले ३ वर्ष पहिले पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी थिइन्।
पहिलेको शल्यक्रियाको समयमा पाठेघर र पिसाब थैली एकै ठाउँमा च्यापिएको रहेछ, यो पटक शल्यक्रिया गर्दा जटिलता देखिएको र रक्तस्राव पनि भएपछि उपचारको लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिला उद्धार कार्यक्रमबाट धामीको सुर्खेत उद्धार गरिएको जिल्ला अस्पताल बझाङका डा.ओव्जन रावलले बताए।