सुदूर नेपाललाई विश्वसँग जोड्दै

मानहानी मुद्दामा भारतका विपक्षी नेता राहुल गान्धीलाई जमानत

२०८१ जेठ २५, ०८:०५ खबर संवाददाता

एजेन्सीः भारतको मुख्य विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले मानहानीको मुद्दामा जमानत पाएका छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको दल भारतीय जनता पार्टी (भाजपा) माथि भ्रष्टाचारको आरोप लगाएको आरोपमा नेता गान्धीविरुद्ध दायर गरिएको मानहानीको मुद्दामा बेङ्गलोरको विशेष अदालतले आज जमानत दिएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ।

गएको वर्षको कर्नाटक राज्यको विधानसभा चुनावमा नेता गान्धीले तत्कालीन भाजपा सरकारमाथि सन् २०१९–२०२३ को शासनकालमा ठूल्ठूला भ्रष्टाचार गरेको आरोप लगाउनुभएको थियो। त्यही आरोपविरुद्ध कर्नाटक भाजपाले कांग्रेस नेता राहुल गान्धी, मुख्यमन्त्री सिद्धारमैया र उपमुख्यमन्त्री डीके शिवकुमारविरुद्ध मानहानीको आरोप दायर गरेको थियो।

विशेष अदालतले यो मुद्दामा गएको जुन १ मा सिद्धारमैया र शिवकुमारलाई जमानत दिएको थियो। अब यो मुद्दामा अघिल्लो सुनुवाइ यही जुलाई ३० मा हुने खबरमा उल्लेख छ। यसअघि सन् २०२३ को मार्च २३ मा सूरतको एक अदालतले ५३ वर्षीय नेता राहुल गान्धीलाई मानहानी मुद्दामा दुई वर्षको सजाय सुनाएको थियो। 
 

कमेन्ट लोड गर्नुस