सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा

२०८१ जेठ २५, ०६:३५ खबर संवाददाता

धनगढीः सुदुरपश्चिम प्रदेशको कैलालीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा भएको छ। जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’ को तयारी पुरा भएको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदुरपश्चिम प्रदेश सरकार कैलाली, धनगढी उपमहानगरपालिका र नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमको आयोजनामा आईतवारदेखि कैलालीको धनगढी स्थित ओम प्यालेसमा मेला सुरु हुँदैछ।

मेलाको विषयमा जानकारी दिन शुक्रवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका उपसचिव बसन्त बोहोराले रोजगारदाता र कामको खोजीमा रहेका श्रमिकको बीच भेट गराउनु मेलाको मुख्य उद्धेश्य रहेको बताए। ‘मेलाले रोजगारीका अवसरहरु सृजना गर्ने, सीप विकास प्रबद्र्धन गर्ने, उद्यमशीलतालाई प्रोत्साहन गर्ने, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्ने, युवा शसक्तीकरण गर्ने र सार्वजनिक नीजि साझेदारी अभिवृद्धि गर्नेमा हामी विश्वस्त छौ।,’ उनले भने।

त्यस्तै, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमका अध्यक्ष प्रमोद पाठकले नेपालमा दक्ष श्रमिकको अभाव रहेको बताए। रोजगारदाताले आवश्यकता अनुसारको श्रमिक नपाउने अवस्थालाई यस्तो खालको मेलाले सम्बोधन गर्ने उनले बताए। ‘वर्षौदेखि हामी हरेक कुराको लागि अन्य मुलुक र भारतमा भर पर्नुपर्ने अवस्था छ। तर, अबका दिनमा नेपालमा नै गरी खाने वातावरण सृजना गर्न, आन्तरिक रोजगारी सृजना गर्न, यहाँको रोजगारीको अवस्था बुझन, कस्ता खालको सीपको आवश्यकता पर्छ भन्ने खालको बिषयलाई सम्बोधन गर्न यस्तो खालको मेलाले सहयोग गर्नेमा म विश्वस्त छु।,’ उनले भने।

नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ सुदुरपश्चिमका अध्यक्ष पाठकले दुई हजारभन्दा बढी जनालाई रोजगारी अवसर प्रदान गरिने बताए। श्रम कार्यालय कैलालीका कार्यालय प्रमुख जनक सिंखडाले मेलाको तयारी पुरा भएको बताए। हालसम्म मेलामा ३५ वटा नीजि क्षेत्रका स्टलहरु रहेका छन्। ३५ स्टलहरु बुक भैसकेको र थप स्टलहरु बुक हुने क्रममा रहेको उनले बताए। मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ। मेलाको उद्योग मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस