‘प्रदेश र स्थानीय तह मिलेको सन्देश दिन जरुरी’
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सङ्घीयता नयाँ अभ्यास रहेकाले प्रदेश सरकार र स्थानीय तह आपसमा मिलेर अगाडि बढ्नुपर्छ भन्ने सन्देश दिन जरुरी रहेको बताएका छन्।
धनगढीमा बुधवार आयोजित सुदूरपश्चिम प्रदेश समन्वय परिषद्को पाँचौँ बैठकमा परिषद्का अध्यक्षसमेत रहेका मुख्यमन्त्री सोडारीले प्रदेशका सबै क्षेत्रलाई न्याय हुने गरी विकास आयोजनालाई प्राथमिकता दिन सरकार तत्पर रहेको बताए। उनले भने, ‘प्रदेश र पालिका तहले आपसमा समन्वय सहकार्य गरेर प्रदेशको समृद्धिमा लाग्न जरुरी छ।’
भौतिक पूर्वाधार विकासमन्त्री कैलाश चौधरीले विकास आयोजनाको कार्यान्वयनमा देखिएका समस्यालगायतका विषयमा चर्चा गरे। बैठकमा परिषद्को चौथो बैठकका निर्णय कार्यान्वयनको अवस्था, प्रदेश र स्थानीय तहबाट सञ्चालित विकास आयोजनाबिचको समन्वय, नीति कार्यक्रम तथा योजना छनोट र प्राथमिककीकरणमा समन्वय, वित्तीय हस्तान्तरण, प्रशासनिक अन्तरसम्बन्धलगायतका विषयमा प्रस्तुति र छलफल गरिएको थियो।
छलफलमा सहभागी परिषद्का सदस्यले सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय र सहकार्य नहुँदा विकासले अपेक्षित नतिजा दिन नसकी अन्योलतासमेत सिर्जना भइरहेको बताए। बैठकमा सुदूरपश्चिम प्रदेशको प्रदेश समन्वय परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि २०८० पेस गरिएको थियो। परिषद्ले प्रदेश तहमा सञ्चालन हुने विकास आयोजना वा साझा अधिकारका विषय कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहबिच समन्वय र अन्तरसम्बन्ध कायम गर्ने गराउने काम गर्दछ।
सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ ले प्रदेश समन्वय परिषद्को अध्यक्ष प्रदेशको मुख्यमन्त्री रहने व्यवस्था गरेको छ।