सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सहिदगेट–राजघाट सडक ठेक्का भएको चार वर्षपछि कालोपत्र हुँदै

२०८१ जेठ २०, १०:२३ कमल सावद

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका र एड्भेन्चर निर्माण कम्पनीबिच सहिदगेट–राजघाट सडक कालोपत्र गर्न २०७७ असार १४ गते सम्झौता भयो।

तीन करोड ४७ लाखमा एक दशमलव २ किलोमिटर सडक निर्माण गर्न सम्झौता भएको हो। तर निर्माण सम्झौता भएको चार वर्ष वितिसक्दा पनि काम भने पूरा भएको छैन। धनगढी उपमहानगरपालिकाले कालोपत्र गर्ने सामाग्रीको व्यवस्थापन गरेपछि निर्माण कम्पनीले अहिले आएर काम सुरु गरेको हो।

धनगढी उपमहानगरपालिका–३ का वडाअध्यक्ष राजबहादुर ऐरले पुरानै निर्माण कम्पनीले कालोपत्रको काम थालेको बताए। उनले भने, पुरानै निर्माण कम्पनी हो। सो निर्माण कम्पनीलाई नगर प्रमुख जिम्मेवार भएर, तीन पक्षको बैठकमा सामानको पैसा दिने भनेपछि काम सुरु भएको हो।’

नगर प्रमुख गोपाल हमालले कालोपत्र गर्न आवश्यक सामाग्रीको आपूर्ति गर्ने कम्पनीलाई भुक्तानी नरोक्ने बताएपछि निर्माण कम्पनीले सामाग्री पाएको छ। कालोपत्रको सामाग्री, प्राविधिक लगायत जनशक्तिको व्यवस्थापन भएपछि काम सुरु गरिएको हो। चालु आर्थिक वर्षको असारमा निर्माणको काम पूरा हुने दाबी गरिएको छ।

‘सामाग्री उपलब्ध भएपछि काम सुरु भएको छ। तीन दिनमा काम पूरा हुने छ,’ वडाअध्यक्ष ऐरले भने। धनगढी र कञ्चनपुरको राजघाट जोड्ने सो सडक कालोपत्रको काम सुरु गरिएको छ। पटक–पटक म्याद थप गरेर पनि निर्माण कम्पनीले एक दशमलव २ किलोमिटर सडकको काम गर्न सकेको थिइन्।

कञ्चनपुरको राजघाटलाई धनगढीसँग जोड्न मोहना नदीमा पक्की पुलसमेत निर्माण गरिएको छ। तर, सडक स्तरीय नभएपछि स्थानीयले सास्ती पाउने गरेका छन्। वडाअध्यक्ष ऐरका अनुसार २ पटक अस्पाल्ट हालिएको छ। अब एकतिर मात्र बाँकी छ।

No description available.

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस