सेती लोकमार्ग सडक खण्डमा तीनवटा पुल निर्माणको काम अलपत्र
धनगढीः कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने कुइरा खोलामा पुल निर्माणका लागि २०७९ असारमा सम्झौता भयो।
तीन वर्षमा १० करोडको लागतको ७० मिटर लामो र ११ मिटर चौडा पुल निर्माण हुनुपर्ने हो। तर, अहिलेसम्म पुलको आधा काम समेत पुरा भएको छैन। नारायनम सेवा प्रालि, बाँकेले पुलको डिजाइन स्वीकृत नभएको भन्दै काम रोकेको थियो। हाल डिजाइन स्वीकृत हुँदा पनि प्रगति सन्तोषजनक छैन।
सेती राजमार्ग योजना कार्यालयका सूचना अधिकारी केशवदत्त मिश्रले दक्षिण खण्डमा चार मुलमा एकको काम पूरा भएको बताए। उनले भने, ‘कैलालीको बर्दगोरियामा मात्र २ वटा पुल छन्। एक पुलको काम सकिएको छ। अर्को पुलको आधा पनि भएको छैन। मोहन्याल गाउँपालिका क्षेत्रको एउटा पुलको पिल्लरसम्म मात्र काम भएको छ।’
सेती लोकमार्गको कैलाली खण्डमा मात्र दुईवटा पुल निर्माणको काम अलपत्र छ। कुइने खोला र झार्पे खोलाको पुल निर्माणको काम अलपत्र परेको हो। मोहन्याल गाउँपालिका क्षेत्रमा पर्ने झार्पे खोलामा ८० मिटर लम्बाइको पुलको पिल्लरको काम मात्र पूरा भएको छ। अछाम खण्डमा पनि एउटा पुल निर्माणको काम अलपत्र छ।
कैलाली खण्डमा निर्माण कम्पनीले काम नगरेपछि पुलको आधा काम पनि भएको छैन भने अछाममा जग्गाको मुआब्जा वितरण नभएकाले समस्या भएको छ। उनले भने, ‘अछाममा एक पुल हो। पुलको काम सकिएको छ। तर, एप्रोज रोडको काम बाँकी छ। जग्गाको मुआब्जा वितरण नभएकाले समस्या छ।’
सेती लोकमार्ग सडक खण्डमा तीनवटा पुलको काम अलपत्र परेका बेला कैलाली र डोटीको सीमा क्षेत्र ठुलीगाडमा भने पुल निर्माणका लागि ठेक्कासमेत भएको छैन। ठुलीगाडमा आगामी आर्थिक वर्षमा पुल निर्माणका लागि ठेक्का सम्झौता हुने दाबी योजना कार्यालयको छ। सेती राजमार्ग योजना कार्यालयका सूचना अधिकारी केशवदत्त मिश्रले ठुली गाडमा निर्माण कम्पनीले नै पुलको विस्तृत योजना प्रतिवेदन तयार पारेर स्वीकृत गर्दै पुलको काम सुरु गर्ने बताए। उसो त सेती नदीसम्म सडकको ट्याकसमेत पुगेको छैन।