गोदावरीमा मापदण्ड विपरीत खुटिया नदीको दोहन, झोलुङ्गे पुल जोखिममा
धनगढीः जिल्ला समन्वय समिति, कैलालीले गत माघमा गोदावरी नगरपालिका क्षेत्रका तीनवटा नदीबाट अवैध दोहन गर्ने १९ सवारीलाई कारबाही गरेको थियो। गोदावरी नगरपालिकाका तीनवटै नदीबाट तीनवटा एक्स्काभेटर, तीन जेसिबी, १० वटा टिपर र तीनवटा ट्याक्टरलाई कारबाही नै गरिएको थियो। खोला तथा नदीमा पारिएका खाल्डासमेत पुर्नुपर्ने सम्झौता भएको थियो।
तर, गोदावरी नगरपालिकाले फेरि खुटिया नदीको अवैध दोहन गर्न थालेको छ। गोदावरी नगरपालिका–९ मा पर्ने खुटिया नदी क्षेत्रमा मनलाग्दी रूपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको हो। लक्ष्मी सामुदायिक वनकी कोषाध्यक्ष कलावतीदेवी विष्टले नदीजन्य पदार्थको अवैध दोहन हुँदै आएको बताएकी छन्। उनले भनिन्, ‘गाउँका सबै जनता गयौ। हामीले पुलमा नखन्न भनेका थियौ। तर, उहाँहरू झगडा गर्नुहुन्छ। अहिले हामी गएका छैनौ।’
गोदावरी नगरपालिकाले गत असोज २३ गतेदेखि गोदावरी, खैराना र खुटिया नदीबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्दै आएको छ। नदीको ठेक्का नभएपछि नगरपालिका आफैले नदीजन्य पदार्थको उत्खनन गर्दै आएको छ। वडा नम्बर ९ को झोलुङ्गे पुलको मुनिबाट बालुवा तथा गिट्टी सङ्कलन गर्ने काम भइरहेको छ। निर्माण व्यवसायी, स्थानीय युवा, राजनीतिक दलहरू, यातायात व्यवसायी तथा नगरपालिकाका जनप्रतिनिधिकै मिलेमतोमा नदीजन्य पदार्थको अवैध दोहन बढ्दै गएको छ। कलावतीले भनिन्, ‘स्काभेर, जिसीबीको प्रयोग गरेर खुटिया खोलाबाट बालुवा, गिट्टी ल्याउदै आएका छन्। वन समितिले रोक्न खोज्यो भने, झगडा गर्छन। पोर साल पनि झगडा भएको हो। कुटाकुट मारामारको अवस्था आयो। एक टिम बन्द गर्ने अर्काे टिम खन्ने भयो।’
गोदावरी नगरपालिका–९ को झोलुङ्गे पुलको पूर्वतिरको भाग गत वर्षको बाढीले बगाएको थियो। खुटिया नदीबाट मनोमानी रूपमा नदीजन्य पदार्थ उत्खनन हुँदा पुल बगाएको हो। हाल झोलुङ्गे पुल मर्मत गरिएको छ। तर, नगरपालिका आफैले मापदण्ड विपरीत नदीजन्य पदार्थको दोहन गर्दै आएको छ। झोलुङ्गे पुलबाट पाँच सय मिटर माथि र एक किलोमिटर तलको भागबाट ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन गर्न नपाइने नियम छ। तर, गोदावरी नगरपालिकाले पुलको मुनिबाटसमेत बालुवा उठाउने गरेको छ। गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले पुल क्षेत्रबाट नदीजन्य पदार्थ सङ्कलन हुदै आएको विषयमा जानकारी नभएको बताए। उनले भने, ‘स्थानीयले मलाई खबर गर्नुभएको छैन। नगरपालिकामा कुनै गुनासो आएको छैन। के रहेछ म बुझौला।’
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको वातावरण तथा विपद् व्यवस्थापन शाखाले जिल्ला समन्वय समितिहरू र स्थानीय तहहरूलाई पठाएको मापदण्ड विपरीत गोदावरी नगरपालिकाले नदीजन्य पदार्थको दोहन गर्दै आएको छ। गोदावरी नगरपालिका–९ खुटिया नदी क्षेत्रमा मनलाग्दी रूपमा जिसीबीको प्रयोग गरेर नदीजन्य पदार्थको अवैध दोहन हुँदै आएपनि कहिँकतैबाट रोक्ने काम भएको छैन्।