बेहडाबाबा माध्यमिक विद्यालयको प्रथम अभिभावक भेला सम्पन्न
धनगढीः धनगढी–१६ घसिटामा रहेको बेहडाबाबा माध्यमिक विद्यालयको शैक्षिक सत्र २०८१ को प्रथम अभिभावक भेला सम्पन्न भएको छ।
बिहीवार अभिभावक भेला सम्पन्न भएको हो। नगर उप–प्रमुख कन्दकलाकुमारी रानाको उपस्थितिमा भएको अभिभावक भेलामा विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको छ। विद्यालयले हाल अमेरिका बस्ने विद्यालयका पूर्व विद्यार्थी भोजराज भट्ट, सहयोगी नेपाल संस्थाका समाजसेवी वीरबहादुर वुढालाई सम्मान गरेको थियो।
यस्तै, छात्रवृत्ति उपलब्ध गराएको भन्दै १६ नम्बर वडा कार्यालयलाई समेत सम्मान गरिएको छ। अभिभावक भेलाको अवसरमा यो वर्ष अन्य विद्यालयबाट भर्ना हुन आएका ८५ जना विद्यार्थीलाई स्वागत गरिएको थियो भने विद्यालयबाट सरुवा भएर गएका शिक्षकको बिदाइ तथा सरुवा भएर आएका शिक्षकहरूलाई स्वागत गरिएको थियो।
कार्यक्रममा ७५ जना विद्यार्थीलाई झोला र स्टेसनरी तथा २९ जनालाई विद्यालय पोसाक वितरण गरिएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिनारायण राना थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।