सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ४५ हजारभन्दा बढी बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइने 

२०८१ जेठ ९, ०८:२१ खबर संवाददाता

धनगढीः कैलालीमा ४५ हजार एक सय ५५ जना बालबालिकालाई पोलियो बिरुद्धको आइपिभी खोप लगाइने भएको छ।

आइपिभी खोप अभियान–२०८१ अन्तरर्गत जिल्लाका १३ वटै स्थानीय तहका बालबालिकालाई खोप लगाइने भएको हो। यही जेठ १३ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने आईपीभी खोप अभियानमा २०७३ वैशाखदेखि  २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिए।

सो अवधिमा विश्व बजारमा खोप अभावका कारण बालबालिका खोप लगाउन बञ्चित भएकाले अहिले खोप अभियानमार्फत खोप लगाउन लागिएको उनले बताए। खोपको तयारी पूरा भएको बताउँदै उनले जिल्लाभरी आठ सय ६६ खोप केन्द्र रहने उनले बताए।

खोप सुरक्षित भएकाले आफूलाई पायक पर्ने ठाउँमा गएर बालबालिकालाई खोप लगाउन अभिभावकलाई उनले आग्रह समेत गरे। पोलियो रोग जुनसुकै उमेरकालाई पनि हुन सक्ने र ५ वर्षमुनिका बालकबालिका बढी जोखिममा हुने भएकाले खोप  लगायर पोलियो लाग्न नदिनु नै उपयुक्त उपाय भएको उनले बताए।
 

कमेन्ट लोड गर्नुस