सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी भोकेस्नल स्कुलबाट तालिम लिएकाहरु स्वरोजगार बन्दै

२०८१ जेठ ३, ०३:०६ नारायण अवस्थी

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर १८ कि अन्जु चौधरी र वडा नम्बर १९ कि करुणा चौधरी मंसिरभन्दा अगाडि बेरोजगार थिए। उनीहरूको त्यो बिगत भने अहिले फेरिएको छ। अन्जु र करुणाले धनगढी भोकेस्नल स्कुलबाट प्लम्बर र इलेक्ट्रिसियनको तालिम लिएपछि दुबै जनाको दैनिकी फेरिएको हो। ३३० घण्टे प्लम्बर र इलेक्ट्रिसियन तालिम लिएका उनीहरू अहिले भने हरेक दिन हाउस वायरिङ गर्न व्यस्त छन्। तालिम लिएपछि खाली बस्नु नपरेको करुणा चौधरीले बताइन्। 'तालिम लिनुभन्दा अगाडि खाली घरमा बस्थेँ, तर अहिले तालिम लिएपछि साथीसँगै हाउस वायरिङको काम गर्दैछु,' उनले भनिन्, 'हामी चार जना केटीले तालिम लिएका थियौं। दुई जना त घरमै छन् अन्जु र मैले गाउँमै हाउस वायरिङको काम गरिरहेका छौँ। तालिमले हामीलाई फाइदा भयो।'

धनगढी भोकेस्नल स्कुलबाट प्लम्बिङको तालिम लिएका धनगढी–१९ का सुरज थापा अहिले टीकापुरमा प्लम्बिङको काम गरिरहेका छन्। उनीसँगै तालिम लिएका लालबहादुर चौधरी र सुनिल चौधरी पनि टीकापुरमै काम गरिरहेका छन्। उनीहरूलाई जनही मासिक १८ हजार र खान बस्न सुविधासहित रोजगारी मिलेको छ। तालिम लिएपछि घरमा बेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य भएको थापाले बताएका छन्। 'तालिम लिएपछि बेरोजगार भएर घरमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ,' उनले भने, 'टीकापुरमा खान बस्नसहित मासिक १८ हजार तलब लिएर मसहित अन्य दुई जना साथी पनि काम गरिरहेका छौँ।'

बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ का वीरबहादुर बोहराले पनि धनगढी भोकेस्नल स्कुलबाट प्लम्बर र इलेक्ट्रिसियनको तालिम लिएका हुन्। बोहरा अहिले नेपालगन्जमा रोजगारी गरिरहेका छन्। उनलाई कम्पनीले नै खान बस्नको प्रबन्ध मिलाएर मासिक १८ हजार तलब दिएको छ। तालिम लिनुभन्दा अगाडि बझाङमै यार्सागुम्बा टिप्न जाने गरेको बताउने बोहरा अहिले भने रोजगारी पाउन सक्षम बनेका छन्। उनले भोकेस्नल स्कुल चलाएकोमा धनगढी उपमहानगरपालिकाको प्रशंसा गरेका छन्। 'धनगढी उपमहानगरपालिकाले तालिम चलाउँदा सीप सिक्ने अवसर मिलेको छ। नत्र पहिला घरमै बस्ने र जेठ-असारको दुई महिना यार्सा टिप्न जान्थे,' उनले भने, 'अहिले नेपालगन्जमा काम गरिहरको छु। कम्पनीले खान बस्ने सुविधा दिएर मासिक १८ हजार दिएको छ।'

प्लम्बिङ र हाउस वायरिङको संयुक्त तालिम लिएका फूलबारीका दिपक मल्ल र धनगढी–१६ का हरि मल्ल अहिले मिलेर काम गरिरहेका छन्। उनीहरूले सीप सिकेपछि काम खोज्न भौतारिनु परेको छैन। सीपमूलक तालिक लिएपछि अहिलेसम्म हरि र दिपक मल्लले चार वटा घरमा वायरिङ र प्लम्बिङको काम गरिसकेका छन्। उनीहरूले हातमा सीप भए काम खोज्न सुकिने र राम्रै आम्दानी गर्न सकिने बताएका छन्।

नेपाल युथ फाउन्डेसनको सहकार्यमा २०८० असोज ६ गते खुलेको धनगढी भोकेस्नल स्कुलमा यो वर्ष चारवटा तालिम सम्पन्न भएका छन्। चारवटा तालिमबाट ८९ युवाले प्राविधिक सीप हासिल गरेका छन्। तालिम लिएकामध्ये ४१ जनाले नियमित रोजगारी पाएका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस