धनगढीमा विपन्न बालबालिका पढाउन स्थापना गरिएको कोषमा झण्डै १४ लाख जम्मा
धनगढीः कैलालीको धनगढीमा विपन्न परिवारका बालबालिकालाई पढाउन स्थापना गरिएको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ मा झण्डै १४ लाख रुपैयाँ जम्मा भएको छ।
विपन्न परिवारका बालबालिकाको पठनपाठनमा सहयोग पुगाउने उद्देश्यले धनगढी उपमहानगरपालिकाले ‘नगरप्रमुख शैक्षिक सुधार कोष’ स्थापना गरेको हो। कोषमा हालसम्म झण्डै १४ लाख रुपैयाँ जम्मा भएको छ। आर्थिक अभावका कारण विद्यालय पोसाक, शैक्षिक सामग्री लगायतका सामान जोहो गर्न समस्या भएका बालबालिकाको पठनपाठनमा सघाउन नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो।
कोषमा हालसम्म विभिन्न संघसंस्थाबाट १३ लाख ९९ हजार रुपैयाँ जम्मा भइसकेको छ। उपमहानगरपालिकाले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय छनोट गरेर नमुना विद्यालय बनाउने अभियान अघि बढाएको छ। त्यस्ता विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बीचैमा पढाई छोड्न नपरोस् भनेर नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको उपमहानगरपालिकाले जनाएको छ।
धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमालले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न हरसम्भव प्रयास गरिने बताए। उपमहानगरले मात्र शिक्षामा लगानी गर्न नसक्ने भएकाले विपन्न परिवारका बालबालिकाहरुको शैक्षिक गुणस्तर सुधार्न आफूले सक्ने जति कोषमा सहयोग गर्न आग्रह गरेको उनले बताए।
नगरप्रमुख शैक्षिक सुधार कोषमा हालसम्म काठमाडौंको एलआरआई स्कुलका संस्थापक शिवराज पन्तले पाँच लाख, हिमालयन बैंक धनगढी शाखाले एक लाख ९९ हजार पाँच सय, माछापुच्छ्रे बैंक धनगढी शाखाले चार लाख ९७ हजार, प्रभु बैंक धनगढी शाखाले ५२ हजार पाँच सय र महालक्ष्मी विकास बैंक धनगढी शाखाले एक लाख ५० हजार रुपैयाँ सहयोग गरेका छन्।