सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा बृद्ध दम्पतीको हत्या, अनुसन्धानका लागि तालिम प्राप्त कुकुर मगाईयो

२०७६ जेठ १२, ०६:१० नरेन्द्र कार्की

जिल्लाको महाकाली नगरपालिका–३ काटैमा पसल सञ्चालन गरेर बसेका वृद्ध दम्पतीको हत्या गरिएको छ। सडक छेउमा पसल सञ्चालन गरेर बसेका ७० वर्षीया द्रोपती महरा र उनका श्रीमान ७५ वर्षीय वीरभान महराको हत्या भएको हो। शनिबार राति घरेलु हतियार लठ्ठी प्रहार गरी महरा दम्पतीको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आक्रमणबाट उनका नाति १२ वर्षीय लोकेश महरा गम्भीर घाइते छन्। उनलाई थप उपचारको लागि धनगढी ल्याईरहेको प्रहरलिे जनाएको छ। द्रोपतीको शव पसलभित्र मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक रविन्द्र कठायतले बताए। वीरभानको भने जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको छ। टाउकोमा अत्यधिक चोट र रगत बगेको कारण उनको मृत्यु भएको हो।     

‘‘सडक किनारामा वर्षौदेखि पसल सञ्चालन गर्दै आएका महरा परिवारको सबैको हत्या गर्ने उद्देश्य अनुरुप घटना भएको देखिन्छ’’, महाकाली नगरपालिका–३ का वडाध्यक्ष पदमसिंह महराले भने। गहना र पैसाको लागि हत्या गरेको हुनसक्ने उनको भनाई छ। 
गाउँभन्दा टाढा पसल भएका कारण राति भएको घटना बिहान मात्रै गाउँलेले चाल पाएका थिए। घटना कसले र किन गरायो भन्ने केही खुलेको छैन्। घटनास्थलमा खटिएका प्रहरी निरीक्षक कठायतका अनुसार सानोतिनो प्रलोभनमा परेर हत्या गरेको हुन सक्छ। द्रोपतीले झण्डै दुई तोला बराबरको सुनका मुनाडा, फुली, बुलाकी र तिलहरी लगाएकी थिईन्। 

द्रोपतीले लगाएको सुन घटनास्थलमा भेटिएको छैन भने पसलबाट पनि के कति धनमाल लगियो भन्ने थाहा हुन नसकेको वडाध्यक्ष महराले बताए।  घाइते नाति लोकेन्द्रका अनुसार राति १२ बजे घटना भएको थियो। अनुहार छोपेर आएको व्यक्तिले शुरुमा बाजे, त्यसपछि बज्यै र आफूमाथि लठ्ठी प्रहार गरेको लोकेन्द्रले प्रहरीलाई दिएको बयानमा भनिएको छ। ‘‘मान्छे को हो भनेर चिन्न सकेको छैन्। मुख पूरै बाँधेको थियो। झोला बोकेर आएको थियो’’, बयानमा उनले भनेका छन्। निरन्तर बाजे, बज्यै कुट्न थालेपछि लडेपछि आफ्नो समेत टाउकोमा हान्यो। आफू खोला किनारतर्फ भागेकाले बाँच्न सफल भएको उनको भनाई छ। 

बिहान बृद्धका नातिनी पूजा पसलमा आउँदा बज्यैको मृत्यु भएको तथा बाजे र भाइ घाइते अवस्थामा देखेपछि गाउँलेलाई खबर भएको थियो। ‘‘पसलमा पुग्दा रगताम्य देखियो। त्यसपछि प्रहरीलाई खबर गरेर बाजे र भाइ उपचारको लागि अस्पताल लगिएको ल्याइएको हो’’ पूजाले सुनाईन्। ‘‘अस्पतालमा ल्याउँदा बृद्ध वीरभानको अवस्था गम्भीर रहेकाले प्रारम्भिक उपचार गराएर बाहिर पठाउन सकिने अवस्था थिएन’’, जिल्ला अस्पताल दार्चुलाका डा गजेन्द्र दुवालले भने, ‘‘अनेक कोशिस गर्दा पनि उनलाई बचाउन सकिएन तर नातिको भने कानमा चोट लागेको भएपनि उपचार हुँदैछ।’’ लोकेन्द्र हुस्कर मावि काटैमा कक्षा ५ मा अध्ययनरत छन्।     

घटनाको थप अनुसन्धानको लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक कठायतले जानकारी दिए। पूरै परिवारको हत्या गर्ने गरी भएको घटनाले जिल्लामा त्रास बढेको छ। पछिल्लो समय जिल्लामा चोरीका घटनाहरु पनि बढ्दै गएका छन्। बढ्दो चोरी र हत्याको घटनाले सुरक्षा अवस्था कमजोर रहेको स्थानीयवासी बताउँछन्।  

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस